तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण हुँदै

तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौँ महानगरले वडा–३२ को तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको महानगरले पार्क निर्माणको कामलाई द्रुतगतिमा अघि बढाउने जानकारी दिएको छ ।

‘तत्कालिन नेपाल सरकारले २०३२ साल जेठ १४ मा जग्गाप्राप्ति ऐन अनुसार तीनकुनेको जग्गा अधिग्रह गरेदेखि नै तीनकुनेमा पार्क बनाउने योजना बनेको हो । तर, अहिलेसम्म पूरा हुन सकेको छैन,’ महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘तीनकुनेस्थित खाली जग्गाको मुआब्जा विवाद सुल्झाउन नसक्दा यो योजना अलपत्र परेको छ । यस पटक सबै विवादको अन्त्य गरेर योजना अघि बढाउने तयारीका साथ हामी अघि बढेका छौँ ।’

प्रमुख शाक्यले तीनकुनेको मुआब्जा विवाद सुल्झाउन काठमाडौँ महानगरले प्रारम्भिक अधिकारी नै तोकेको र प्रतिवेदन समेत सम्वन्धित निकायमा पठाइसकेको जानकारी दिए । ‘हामीले जतिसक्दो छिटो तीनकुनेको विवाद अन्त्य गर्ने र पार्क निर्माणको कामलाई अघि बढाउने उद्देश्यका साथ प्रारम्भिक अधिकारी तोकेका थियौँ । प्रारम्भिक अधिकारीले सम्वन्धित निकायलाई प्रतिवेदन बुझाई सक्नु भएको छ । साथै, महानगरले तोकेको प्रारम्भिक अधिकारीले सरोकारवाला निकायसँग निरन्तर छलफल गरिरहनु भएको छ,’ उनले भने,‘हामीले डिजाइन तयारी अवस्थामा राखेका छौँ । समस्या समाधान हुने वित्तिकै काम तिव्र गतिका साथ अघि बढ्छ ।’

महानगरले आफ्नो नीति तथा कार्यक्रममा समेत नेपाल सरकार, प्रदेश सरकार तथा अन्य सरोकारवाला संघसंस्था एवं ब्यक्तिहरुको सहयोग र समन्वयमा का.म.पा. ३२ तीनकुनेमा अध्याधुनिक बुद्धपार्क निर्माण कार्य सुरु गर्ने कुरा उल्लेख गरेको स्मरण गराउँदै प्रमुख शाक्यले सबैसँग सहयोगको अपेक्षा गरेको बताए । संघीय सरकार समेत अधिग्रहण गर्नुपर्ने र मुआब्जा वितरण हुन बाँकी क्षेत्रफलका लागि आवश्यक रकम व्यवस्थापन गर्न सकारात्मक रहेकाले यो पटक मुआब्जा विवाद समाधान हुने र पार्क निर्माणको काम अघि बढ्नेमा महानगर विश्वस्त बनेको छ ।

‘चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला पनि हामीले तीनकुनेमा हरियालीसहितको आइल्याण्ड निर्माण गरेका थियौँ,’ प्रमुख शाक्यले भने, ‘सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली प्रर्वद्धन गर्ने, सहरको सौन्दर्य बढाउन पार्क निर्माण गर्नेलगायत महानगरपालिकाको नीति नै हो । हामीले यसै अनुरुप तीनकुनेमा बुद्धपार्क निर्माण गर्न चाहेका हौँ ।’

केही जग्गाधनीले चलन चल्तीको मुल्य अनुसार मुआब्जा पाउनु पर्ने लगायतका माग गरेपछि विवाद अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन । धेरै जग्गाधनीले पहिले नै मुआब्जा पाइसकेका छन् । ‘हामीले करीब ५० रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको तीनकुनेमा बुद्धपार्क निर्माणका लागि डिजाइन तयार पारिसकेका छौँ,’ महानगरले सम्पदा तथा पर्यटन विभाग प्रमुख अर्चना श्रेष्ठ शाक्यले भने, ‘हिन्दु र बौद्ध धर्मको मर्मको फ्युजन गरी निर्माण हुने उक्त पार्कको तीन कुनामा ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका साथै ‘बुद्ध’, ‘धर्म’ र ‘संघ’ (म बुद्धको शरणमा जान्छु, म धर्मको शरणमा जान्छु, म संघको शरणमा जान्छु) लाई आधार मानेर डिजाइन तयार गरिएको छ ।’

शाक्यका अनुसार अण्डरग्राउन पार्किङ, पहिलो तलामा क्युरिओका सामानहरु बेच्ने पसल, सार्वजनिक सौचालय, प्रदर्शनी कक्षहरु रहने छन् । पार्कमा अपाङ्गमैत्री, बालबालिकाका लागि खेल्ने ठाउँ, जेष्ठ नागरिकका लागि आराम गर्ने, स्थान, साइकल ट्याक लगायत पनि रहने गरी डिजाइन तयार पारिएको छ । डिजाइन अनुसार माथिल्लो तलामा २ सय जति अटाउने ध्यानकेन्द्र रहने छ । ध्यानकेन्द्रमा विभिन्न आध्यात्मिक कार्यक्रमका लागि उपयोग गरिने छ । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिने वित्तिकै पुगिने ठाउँ भएकाले पनि तीनकुनेमा निर्माण हुने बुद्धपार्कले पर्यटकलाई आकर्षित गर्ने र सहरको सौन्दर्य बढाउन उपयुक्त स्थान हुने उनको भनाइ छ ।

‘अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेको यो पार्क निर्माण सम्पन्नपछि जहाजबाटै पनि सुन्दर र शान्त देखिने छ,’ उनका अनुसार डिजाइनमा वाटर फाउण्टेन पनि राखिएको छ । जहाँ पानीको रंगिन छहरसँगै प्राकृतिक ध्वनी उत्पन्न हुनेछ र त्यसले सबैलाई आनन्दित बनाउने छ ।

‘सार्वजनिक जग्गा संरक्षण गर्ने नीति अनुसार पनि हामीले तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्न चाहेको हौँ,’ उनले भने, ‘हामीले तयार पारेको डिजाइन अनुसार तीनकुनेको बीचमा १३ मिटर अग्लो र ९६ मिटर व्यासका गुम्बज आकारको संरचना रहनेछ । त्यहि गुम्बज आकारमा करीब १६ मिटर अग्लो बुद्धको मुर्ति रहने छ । मुर्तिको बेस १२ मिटर व्यासको रहने छ । बुद्धमुर्तिको तल ६ मिटर चौडाईको धर्म–परिक्रमाचक्र रहने छ ।’ उनका अनुसार तीनकुनेको तीन वटा कुनामा शंख आकारको पार्क रहने छ ।

मुर्तिबाहेक करीब डेढ अर्बको लगानीमा निर्माण हुने बुद्धपार्कमा बुद्धमुर्ति भएको ठाउँसम्म पुग्न १२ वटा प्रवेशद्वार राखेर डिजाइन तयार पारेको पनि शाक्यले जानकारी दिए । ‘बाटो सकिने वित्तिकै तीन मिटरको साइकल ट्याक रहने छ,’ उनले भने ‘त्यसपछि फाउण्टेन र हरियाली रहने छ । अनि मात्रै घुम्ने धर्मचक्र र त्यसपछि बुद्धमुर्ति रहने छ ।

Skip This
Skip This
Logo