रोल्पालीको सडक सास्तीः हरेक वर्ष जान्छ अकालमै ज्यान

रोल्पालीको सडक सास्तीः हरेक वर्ष जान्छ अकालमै ज्यान

केन्द्रबिन्दु
0
Shares

यहाँका सडकले गर्दा रहेक वर्ष रोल्पालीले अकालमै ज्यान गुमाउनुपरेको छ। गत मङ्गलबार जिल्लाको परिवर्तन गाउँपालिका वाग्मारावाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा चारको मृत्यु र १९ घाइते भएका थिए। 

दुर्घटना शहीदमार्ग सडक खण्डअन्तर्गत त्रिवेणी गाउँपालिका-७ तिलारिचिमा भएको थियो। सडकदेखि करिब एक सय ५० मिटर तल खसेको उक्त बसमा २३ जना यात्रु सवार रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए। दुर्घटनामा एक दम्पत्तीसहित थप दुईको मृत्यु भएको थियो। 

माडी-४ रोल्पाका ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्ता डाँगीको एउटै चिहान भयो। प्रहरीका अनुसार उनीहरू उपचारका लागि जिल्लाबाट दाङ घोराही तर्फ जाँदै थिए। मृत्यु हुनेमा माडी-२ का २२ वर्षीय प्रकाश बाँठामगर र परिवर्तन-३ का ४६ वर्षीय भक्त विक रहेका सूचना अधिकारी भुसालले बताए।

घाइते १९ मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। घाइते सबैको घटनास्थलमा प्राथमिक उपचार गरी थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको सूचना अधिकारी भुसालले जानकारी दिए। 

सशस्त्र युद्धका समयमा निर्माण सुरु गरिएको शहीद मार्ग जिल्लाको रुन्टीगढी, त्रिवेणी, रोल्पा नगरपालिकाका साथै माडी, परिवर्तन र थवाङ गाउँपालिकाको भूभाग भएर जान्छ।

उक्त खण्डले दाङको घोराहीदेखि रोल्पाको थवाङ खण्ड र रुकुमको चुनवाङसम्म जोड्छ। निर्माण सुरु हुँदाका बेला उक्त सडक खन्न रोल्पा, रुकुम, सल्यान, जाजरकोट, दाङ,पाल्पा, गुल्मी, अर्घाखाँची, म्याग्दी, पर्वतका जनताले दुई पटक गरी २०/२० दिन श्रमदान गरेका थिए। 

आर्थिक वर्षको सुरुआतमै जिल्लामा भएको भयावह दुर्घटना पहिलो वा एक मात्र भने होइन। प्रत्येक वर्ष यसैगरी दुर्घटना भएर ठूलो धनजनको क्षति हुने गरेको छ। शहीद मार्गसँगै जिल्लामा पछिल्लो समय सडकको पहुँच विस्तार भएका छन्।

सङ्घ, प्रदेश र स्थानीय तहका बजेटको ठूलो हिस्सा सडकमा खर्च हुँदा यहाँका भित्री गाउँमासमेत सडक सञ्जाल विस्तार भएका हुन्। सडक सञ्जाल विस्तारसँगै जिल्लामा सवारी दुर्घटनासमेत बढ्दै जान थालेका स्थानीय बताउँछन्।

आर्थिक वर्ष २०७९/८० मा ७२ सवारी दुर्घटना भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। जिल्लामा सबैभन्दा धेरै दुर्घटना हुनेमा मोटरसाइकल देखिएको छ।

उक्त वर्ष ३१ मोटरसाइकल, कार, जीप र भ्यान १६, ट्र्याक्टर १०, टेम्पो आठ, बस पाँच, टिपर चार, ट्रक र एम्बुलेन्स दुई-दुई वटा दुर्घटना भएको कार्यालयले जनाएको छ। ती दुर्घटनामा १८ ले ज्यान गुमाउनुका साथै एक सय ५२ जना घाइते भएका थिए। 

चालु आवमा सबैभन्दा बढी सवरी दुर्घटना हुनेमा सुनिलस्मृति गाउँपालिका देखिएको छ। उक्त पालिकामा हालसम्म २२ दुर्घटना भएका जनाइएको छ। ती दुर्घटनाबाट चारको मृत्यु र ३३ घाइते भएका थिए।

त्रिवेणीमा १२, रुन्टीगढीमा १०, माडीमा छ, गङ्गादेवमा चार, परिवर्तनमा छ, थवाङ गाउँपालिकामा तीन सवारी साधन दुर्घटना भएका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै, रोल्पा नगरपालिकामा १३ सवारी दुर्घटनामा परी चारको मृत्यु र २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार सारु मगरले जानकारी दिए। उनका अनुसार जिल्लामा हुने अधिकांश दुर्घटना तीव्र गति, क्षमता भन्दा बढी यात्रु चढाउने, चालक अनुमतिपत्र बिना नै सवारी साधन चलाउनेलगायत कारण रहेका छन्।

“सवारी चलाउँदा लापरबाही गर्नु, गाडीका छत तथा पिकअपको खुल्ला भागमा चढेर यात्रा गर्नु, मादक पदार्थ सेवन गरी सवारी चलाउनुलगायत हुन्”, उनले भने।

साँघुरा सडक, क्षमता भन्दा बढी यात्रु, यातायात व्यवसायी समितिको अस्वस्थ्य प्रतिस्पर्धा, मादक पदार्थको सेवन गरी सवारी चलाउनु जस्ता कारणले दुर्घटना गराउन भूमिका खेल्ने नागरिकको गुनासो छ । हिउँदमा धुलाम्य र वर्षातमा हिलाम्य सडकका कारण दुर्घटना बढेका स्थानीयको भनाइ छ ।

चालकलाई जिम्मेवार बनाउन नियमित स्वास्थ्य जाँच गराउने, मानसिक स्वास्थ्यप्रति सचेत रहन ध्यानाकर्षण गराउने, ट्राफिक नियमका सम्बन्धमा समयसमयमा सचेतनामूलक कार्यक्रम गर्नुपर्ने पत्रकार काशीराम डाँगीले सुझाव दिए ।

जिल्लामा बढेको सवारी दुर्घटनासँगै जिल्ला अदालतमा सवारी दुर्घटनासम्बन्धी मुद्दाको सङ्ख्यासमेत बढेका छन् । गत आर्थिक वर्षमा ज्यान वा अङ्गभङ्ग वा घाइते भएको कसुरमा १४ मुद्दा परेका अदालतले जनाएको छ । 

Skip This
Skip This
Logo