उत्कृष्ट शिक्षा प्रदान गर्ने विद्यालयहरु सरकारबाट पुरस्कृत भएका छन् । राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विशेष समारोहमा उत्कृष्ट सार्वजनिक, निजी, प्राविधिक विद्यालयलगायत क्याम्पस पुरस्कृत भएका हुन् ।
कार्यक्रममा पुरस्कृत हुने सबैलाई कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षामन्त्री अशोक कुमार राईलगायतले पुरस्कार वितरण गरेका थिए ।
सार्वजनिक विद्यालयतर्फ विसं २०७९ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसइई) मा उत्कृष्टताका आधारमा सिन्धुली जिल्लाको दुधौली नगरपालिकास्थित कमला माध्यमिक विद्यालय पुरस्कृत भएकाे छ । उक्त विद्यालयले राष्ट्रिय शिल्ड, ध्वजा र नगदसहित रु तीन लाख राशिको पुरस्कारसहित प्रमाणपत्र पाएको छ ।
विसं २०७९ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसइई) मा उत्कृष्टताका आधारमा सिन्धुलीकाे कमला माध्यमिक विद्यालय पुरस्कृत भएकाे छ ।
साथै द्वितीय हुने सिन्धुलीकै कमला मावि, कमलामाईले रु दुई लाख र तृतीय हुने सल्यानको नारायण मावि, कुमाखलाई रु एक लाख राशिको पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ ।
निजी (संस्थागत) विद्यालयतर्फ राष्ट्रियस्तरमा प्रथम भई ललितपुरको प्रसादी एकेडेमी पुरस्कृत भएको छ । प्लस टुको शिक्षामा आफूलाई सधैं शीर्ष स्थानमा राख्न सफल भएको प्रसादी निजीतर्फ सर्वोत्कृष्ट भएको हो । प्रसादीले राष्ट्रिय शिल्ड, ध्वजा र तीन लाख राशिको पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ ।
प्लस टुको शिक्षामा आफूलाई सधैं शीर्ष स्थानमा राख्न सफल भएको प्रसादी निजीतर्फ सर्वोत्कृष्ट भएको हो ।

द्वितीय भई काठमाडौँको सेन्ट जेभियर्स कलेजले रु दुई लाख र तृतीय भई काठमाडौँकै बूढानीलकण्ठ स्कुलले रु एक लाख राशिको पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ ।
प्राविधिक विद्यालयतर्फ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सिफारिसका आधारमा रुपन्देहीको कोरिया नेपाल बहुप्राविधिक शिक्षालय पुरस्कृत भएको छ । साथै मोरङको मनमोहन मेमोरियल पोलिटेक्निक, झापको लाइफलाइन अस्पताल प्रालि र मोरङको आदर्श मावि पनि पुरस्कृत भएका छन् । तीनै विद्यालयले एकरएक लाखको पुरस्कार प्राप्त गरेका छन् ।
साथै उत्कृष्ट क्याम्पसतर्फ विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा पुरस्कृत हुने आङ्गिक क्याम्पसमध्ये ललितपुरको पुल्चोक क्याम्पस, सामुदायिकतर्फ रुपन्देहीको लुम्बिनी वाणिज्य क्याम्पस, निजीतर्फ काठमाडौँको काठमाडौँ मोडेल कलेजले प्रतिसंस्था रु दुई लाख ५० हजार राशिको पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
यसै वर्षदेखि स्थापना गरिएकोे समाजकल्याण शिक्षा पुरस्कार भक्तपुरको एसओएस बालग्राम, सुर्खेतको कोपिला भ्याली सेवा समाज र काठमाडौँको माला खरेल, बाल सारथी एकेडेमीलाई प्रतिसंस्था रु तीन लाखका दरले पुरस्कार प्रदान गरिएको छ ।
सडक बालबालिका, एचआइभी एड्स सङ्क्रमितका सन्तान, अशक्त तथा असहाय बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गरी राष्ट्रियस्तरमा उल्लेखनीय योगदान दिएका कारण संस्थालाई यो पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
नेपाल सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानी गत जेठ ९ गतेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो । ‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज दिवस मनाइएको छ ।































प्रतिक्रिया