नयाँ दिल्ली ।
भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले भारतका कोभिड १९ का सङ्क्रमितहरुमा निको हुने प्रतिशत ५८ रहेको जानकारी दिएका छन् । उनले भनेका छन् – यहाँका कोभिड १९ का सङ्क्रमितहरुमध्ये ५८ प्रतिशतलाई निको भएको छ ।
भारतमा शनिबारसम्ममा कम्तीमा पनि पाँच लाखलाई कोभिड १९ को सङ्क्रमण भएको र तीमध्ये कम्तीमा पनि तीन लाख मानिस निको भएर घर फर्किएका छन् । उनका अनुसार शनिबारसम्ममा यहाँका करिब तीन लाख सङ्क्रमितलाई निको भएको छ । अरु पनि धेरै जना यसबाट निको भएका र घर जाने अन्तिम तयारीमा रहेका जानकारी पनि उनले दिए ।
भारतका विभिन्न आठ राज्यका ती नागरिक निको भएर घर फर्किएका छन् । त्यसैगरी भारतमा निधन भएकाहरुमा ८७ प्रतिशत जति तिनै राज्यका नागरिक रहेका पनि उनले बताए ।
यहाँ मृत्यु दर जम्मा तीन प्रतिशत छ र यो निकै नै कम हो, उनले भनेका छन् । यहाँ पहिलेको तुलनामा दोब्बर हुने दर पनि बढेको उनले बताए । उनले १९ दिनमा यहाँका सङ्क्रमितको संख्या दोब्बर हुने गरेको जानकारी पनि दिएको समाचारमा जनाइएको छ ।
यहाँ कोरोना सङ्क्रमणको परीक्षण गर्ने संख्या पनि बढेको जानकारी उनले दिए । यहाँका १ हजार २० प्रयोगशालामा शुक्रबार मात्र २ लाख ३० हजार जनाको परीक्षण गरिएको उनले जानकारी दिए।
भारतमा शनिबारसम्म कोरोना सङ्क्रमणबाट पाँच लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । त्यसैगरी सो सङ्क्रमणबाट १५ हजार जना भन्दा बढीको ज्यान गएको छ । यहाँ गएको २४ घन्टायता मात्र १८ हजार भन्दा बढी नागरिक सङ्क्रमित भएको भेटिएका छन् । यो एकै दिन सङ्क्रमित भएकाहरुमा सबैभन्दा बढी संख्या हो ।
यहाँ गएका केही दिन यतादेखि हरेक दिन कम्तीमा पनि १४ हजार जना सङ्क्रमित हुने गरेका छन् । पछिल्लो समयमा यहाँ थपिएका विरामीहरुका कारण भारतको अवस्था भयावह हुने देखिएको पनि बताइएको छ ।रासस/एएनआई































प्रतिक्रिया