स्थायी कमिटी बैठकमा परराष्ट्र मन्त्रीको दुखेसो, भारत वार्ताका लागि तयार नै भएन

स्थायी कमिटी बैठकमा परराष्ट्र मन्त्रीको दुखेसो, भारत वार्ताका लागि तयार नै भएन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको दोस्रो दिनको बैठकमा परराष्ट्र मन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले सीमा समस्या समाधानका लागि भारतीय पक्ष तयार नभएको दुखेसो पोखेका छन् । शुक्रबार बैठकको सुरुमा बोल्दै मन्त्री ज्ञवालीले वार्ताका लागि निरन्तर पहल गरिरहे पनि भारतीय पक्ष तयार नभएको दुखेसो पोखेका हुन् ।
मन्त्री ज्ञवालीले भनेका छन्–‘कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्रमित भूमि फिर्ता गर्न सरकारले पहल गरिरहेको छ । तर भारतीय पक्षले वार्तामा सकारात्मक तत्परता देखाएको छैन । हाम्रो प्रयास निरन्तर कूटनीतिक पहलद्वारा नै समाधान गर्नेमा हुनेछ ।’

त्यस्तै मन्त्री ज्ञवालीले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको समाचार बाहिरिएको भन्दै त्यसलाई नियोजित र भ्रामक भनेका छन् । चीनसँग सीमाको सम्बन्धमा कुनै समस्या नरहेको उनको भनाइ छ ।
आजको बैठकमा १८ जना स्थायी कमिटी सदस्यहरू बोलेपछि बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार आज बोल्ने सदस्यहरुले नेपालको सीमा समस्या र समाधानका बारेमा आ–आफ्नो धारणा राखेका थिए । बैठकमा लिलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारायणकाजी श्रेष्ठले बोलेका थिए ।


बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यव्यस्तताका कारण बैठकमा उपस्थित हुन नसकेको जानकारी दिएका थिए । स्थायी कमिटीको अर्को बैठक भोलि विहान ११ बजे बस्नेछ ।

यसअघि बुधबार बसेको बैठकले छलफलका लागि सात एजेण्डा तय गरेको थियो । सात एजेण्डामा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षको मन्तव्य, कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल, सीमा समस्या र समाधान, सरकारका कामको समीक्षा, पार्टी एकताका बाँकी कामहरु, एमसीसी र विविध रहेका छन् । विविधमा रुकुम घटनाको सन्दर्भ, प्रतिनिधि सभामा पेश भएको नागरिकता विधेयक र संघीय सांसदको सुविधा राखिएको थियो ।

Skip This
Skip This
Logo