भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बासिडोल टोलबासीहरुले चन्दा उठाएर मन्दिर निर्माण सम्पन्न गरेका छन्।
कलात्मक पिट्टलको छाना राखेर यहाँ सुन्दर गणेशको मन्दिर बनाइएको हो।मन्दिर निर्माण समितिका संयोजक कृष्णनारायण मचामसीका अनुसार पहिला मन्दिर सामान्य रुपमा मात्रै बनाउने योजना थियो।
योजना अनुसार पाँच हजार भन्दा माथि चन्दा दिनेहरुको नाम शिलापत्रमा लेखिने योजना थियो। तर पछि चन्दा दिनेहरुको लहर नै चले पछि सामान्य मात्रै नभई कलात्मक मन्दिर बनाइएको मचामसीले जानकारी गराए।
त्यसकारण यहाँ अहिले साधारण मन्दिरको साटो जीवन्त धार्मिक सम्पदाको रुपमा आकर्षक मन्दिर निर्माण भएकाे उनले जानकारी दिए।सल्लाहकार तुल्सीनारायण लाखेमरुका अनुसार मन्दिर निर्माण सम्पन्न गरी मन्दिरमा प्राण प्रतिस्थापन कार्यक्रमसमेत सम्पन्न भएको छ।
उनले उक्त मन्दिर निर्माण कार्यको लागि आर्थिक तथा भौतिक सहयोग गर्नेहरुको लर्काे देखेर सवैजना खुसी भएको पनि उनले जनाए। साथै उनले सहयोगी सम्पूर्ण दाताहरु र विभिन्न संघ सस्थाहरुलाई पनि धन्यवाद ज्ञापन गरे।
यसअघि बस्ती निवासी सम्पूर्ण टोलबासीहरुको सकृयतामा २०७९ फागुन १३ गते एक भेला गरिएको थियो। भेलाले सूर्यविनायक नगरपालिका ८ बासीडोल चाइनिज ईट्टाभट्टाको पूर्व कम्पाउण्डसँगै श्री गणेशको मन्दिर निर्माण गर्ने निर्णय गरेकाे थियो। योजना अनुसार २०७९ चैत १६ गते टोलबासीमध्येको जेष्ठ नागरिक सानुभाइ गोसाईबाट शिलान्यास गरिएको थियो।































प्रतिक्रिया