‘महाजात्रा’ मा जोडिए दिव्यदेव,गौमाया र शिशिर

‘महाजात्रा’ मा जोडिए दिव्यदेव,गौमाया र शिशिर

केन्द्रबिन्दु
0
Shares

‘जात्रा’ र ‘जात्रैजात्रा’ को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृङ्खला फिल्म ‘महाजात्रा’ मा नयाँ कलाकार जोडिएका छन्। 

नयाँ शृङ्खलामा हरिवंश आचार्य जोडिएको खबर केही समय अगाडी नै सार्वजनिक भइसकेको छ भने दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्ग्देल समेत जोडिएका छन्। 

उनीहरूले आफ्नो लुक्स टेस्ट गरिसकेका छन् भने छायाङ्कनको लागि आफ्नो पात्रबारे पूर्ण रुपमा तयार भइसकेका छन्। फिल्मका अभिनेता तथा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँका अनुसार उनीहरूको आगमनले टिमको लाइनअप अझैँ बलियो बनेको छ। 

‘हामीले आर्टिस्टको लाइनअपलाई बलियो बनाएका छौँ। शृङ्खला प्रति बढ्दो दर्शकको विश्वासले गर्दा पनि स–सानो भूमिकामा समेत उहाँहरुको प्रिय कलाकारलाई कास्ट गरिरहेका छौँ’,कार्यकारी निर्माता बानियाँले भने। 
 
कात्तिक १३ गतेबाट छायाङ्कन गर्ने तयारीमा रहेको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ भने यसलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्दैछन्। यो फिल्मका अघिल्ला भागले घरेलु फिल्ममा कसरी कमेडी पनि यथार्थपरक र परिस्थितिजन्य हुन्छ भन्ने पुष्टि गरेको थियो।

स्थापित ब्राण्ड र दर्शकको विश्वासिलो समुहसँग सहकार्य गर्न पाउँदा आफू उत्साहित रहेको अभिनेत्री गौमायाले बताइन्। उनले भनिन्,‘एउटा कलाकारको रुपमा उहाँहरूसँग काम गर्ने इच्छा पुरा हुँदैछ। दर्शक समक्ष नयाँ भूमिकामा प्रस्तुत हुने कुराले उत्साहित छु।’

यसमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, अरविन्द खड्का, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहनेछ। महापुरुष र जात्रा शृंखला जस्ता सुपरहिट फिल्म दिएको कारण षट्कोण आर्ट्सको फिल्म पनि दर्शकमाझ प्रतीक्षित छ।

फिल्म छायाङ्कन नहुँदै फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ। फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ।

Skip This
Skip This
Logo