इजरायलमा ज्यान गुमाएकामध्ये नेपाल ल्याइएकाे चार विद्यार्थीको शव आफन्तले बुझे

इजरायलमा ज्यान गुमाएकामध्ये नेपाल ल्याइएकाे चार विद्यार्थीको शव आफन्तले बुझे

केन्द्रबिन्दु
0
Shares

इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये नेपाल ल्याइएकाे चार जनाको शव आफन्तले बुझेका छन् । आजै मात्र काठमाडौं ल्याएर  नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी लगिएको शवलाई परिवारले बुझेका हुन् । 

दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल ल्याइएको थियो । न्यौपानेको शव गए राति ल्याइएको थियो भने धामी र विष्टको शव आज बिहान आइपुगेको हो । चौधरीको शव आज दिउँसो २ः४० बजे नेपाल ल्याइएको हो । 

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । उनीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । 

उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, धनुषा सापही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा, डोटी लामीखाल-८ का पदम थापा र सल्यान सारदा-३ का प्रवेश भण्डारी छन् । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कबिहीन छन् ।

Logo