आइतबार बिहानको भूकम्पबाट धादिङमा ६ वटा घर पूर्णरुपमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। आइतबार साँझसम्मको विवरणअनुसार १८ वटा घरमा आंशिक क्षति पुगेको जिल्ला अधिकारीले जानकारी दिए।
आइतबार साँझसम्म ६ वटा घर क्षतिग्रस्त बनेको र १८ वटा घरमा आंशिक क्षति पुगेको विवरण प्राप्त भएको छ। घर भत्किएकालाई वैकल्पिक बसोबासका लागि त्रिपालको व्यवस्था गरिएको छ।
भूकम्पले ज्वालामुखी गाउँपालिका-५ को सिम्ले, भाङे, कालिमाटीलगायतका ठाउँका घरहरूमा क्षति पुर्याएको छ।धादिङ, ज्वालामुखी-५ खरी केन्द्र गरेर आइतबार बिहान ७ः३९ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि बिहान ८ः८ मा ४.२, ८ः२८ मा ४.३ र ८ः५९ मा ४.१ म्याग्निच्युडको परकम्प गएको थियो।
अपराह्न ४ः०३ बजे ४.४ र साँझ ५ः३१ र ५ः३३ मा क्रमशः ५.० र ५.१ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
दिनभरको कम्पनका कारण प्रभावित ठाउँमा स्थानीयहरू घरबाहिरै बसेका थिए। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङ केन्द्र गरी आइतबार गएको भूकम्प नयाँ कम्पन नभएको र २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्र गरी गएको भूकम्पको परकम्प भएको बताएको छ।





























प्रतिक्रिया