राष्ट्रपतिद्वारा उच्चस्तरीय भेटघाट, देशको समसामयिक विषयमा छलफल

राष्ट्रपतिद्वारा उच्चस्तरीय भेटघाट, देशको समसामयिक विषयमा छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री लगायत संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेताहरूसँग भेटघाट गरेकी छिन् ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटघाटमा उनले मुलुकको समसामयिक विषयमा छलफल गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा राष्ट्रपतिले नेपालको अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नयाँ नक्सामा समावेश गरी संविधानमा निशान छाप कायम गर्नका लागि संविधान संशोधन गर्ने सवालमा दलबीच देखा परेको अभूतपूर्व राष्ट्रिय एकताप्रति आफू खुशी भएको बताउँदै धन्यवाद दिइन् ।

राष्ट्रपतिले कोभिड–१९ को महामारीविरुद्धको प्रतिकार्यमा राष्ट्रिय एकता प्रदर्शित हुँदै आएकामा खुशी व्यक्त गर्दै यस अभियानमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायलाई धन्यवाद दिँदै कोरोना प्रभावित बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् ।

राष्ट्रपतिले वातावरण विनाशप्रति चिन्ता व्यक्त गर्दै नदी प्रणाली र अन्य प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै पर्यावरण सन्तुलनका लागि प्रभावकारी कार्य गर्न राजनीतिक दलबीच एकता कायम हुनुपर्ने कुरामा जोड दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले यसरी राष्ट्रका ज्वलन्त विषयमा दलबीच हुने सहकार्य र एकताले मुलुकको आर्थिक विकासका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।रासस

Logo