काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७ ०७८ का लागि रु १६ अर्व ४२ करोड ७३ लाख २६ हजारको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले सो रकम बराबरको बजेट नगरसभाको सातौँ अधिवेशनमा प्रस्तुत गरेकी हुन् । उनले प्रस्तुत गरेको बजेटमा आर्थिक विकास क्षेत्रका लागि १७ करोड २३ लाख विनियोजन गरिएको छ । यो कूल बजेटको १ दशमलव ५ प्रतिशत हो ।
त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार विनियोजन गरिएको छ । यो कूल बजेटको १० दशमलव ८५ प्रतिशत हो ।
काठमाडौं महानगरपालिकाले पूर्वाधार विकास क्षेत्रका लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजारको बजेट विनियोजन गरेको छ । यो कूल बजेटको ५१ दशमलब ३४ प्रतिशत हो । सामाजिक विकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख बजेट विनियोजन गरेको छ । जुन कूल बजेटको १५ दशमलब २२ प्रतिशत हो । त्यसैगरी सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु ९६ करोड ३० लाख बजेट विनियोजन गरिएको छ । जुन कूल बजेटको ५ दशमलव ८६ प्रतिशत हो । शसर्त अनुदान तर्फ २ अर्ब ५७ करोड ५१ लाख ५ हजार विनियोजन गरेको छ । जुन कूल बजेटको १५ दशमलब ६८ प्रतिशत हो ।
महानगरपालिकाको आर्थिक बर्ष २०७७ ०७८ का लागि रु १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ । जसमध्ये अन्तरिक श्रोतबाट कूल रु ६ अर्ब ७६ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरेको छ । यो कूल आम्दानीको ४१ प्रतिशत हो । त्यसैगरी बाह्य स्रोततर्फ निशर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार, शसर्त अनुदानबाट रु २ अर्ब ५७ करोड ५१ लाख ५ हजार, सामाजिक सुरक्षा भत्ता बापत रु १ अर्ब २० करोड, जग्गा एकीकरणबाट ९६ करोड ८ लाख २६ हजार गरी कूल रु ६ अर्ब १६ करोड ८ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ । जुन कूल आम्दानीको ३७ दशमलव ५० प्रतिशत हो । कूल आम्दानीमा नपुग हुने रकम रु ३ अर्ब ५० करोड बैंक मौज्दातबाट व्यहोर्ने महानगरपालिकाले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । यो कूल आम्दानीको २१ दशमलव ३० प्रतिशत हो ।
महानगरपालिकाको आम्दानी प्रक्षेपण यस्तो छ
आन्तरिक स्रोतबाट महानगरपालिकाले ६ अर्ब ७६ करोड ६५ लाख आन्दानी गर्ने लक्ष्य लिएको छ । जसअन्तर्रगत प्रमुख स्रोतका रुपमा रहेको वहाल करबाट १ अर्ब ५० करोड र सम्पत्ति करबाट ८० करोड उठाउने लक्ष्य लिएको छ ।
त्यसैगरी व्यवसाय करबाट ४० करोड, विज्ञापन करबाट ६ करोड असुली गर्ने लक्ष्य पनि महानगरपालिकाले लिएको छ भने शुल्क आयबाट १ अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ । कवाडी करलगायतबाट पनि महानगरपालिकाले आम्दानी गर्ने लक्ष्य लिएको छ । महानगरपालिकाले आन्तरिक स्रोतबाट कूल बजेटको ४१ दशमलव १९ प्रतिशत असुल गर्ने लक्ष्य लिएको छ ।
कोभिड–१९ को असर र रोकथाम न्यूनीकरणलाई प्राथमिकता
कोभिड–१९ को असर, त्यसको रोकथाम र यसवाट पर्न सक्ने प्रभावहरुको न्यूनीकरणका लागि विशेष कार्यक्रमहरु बजेट विनियोजनमा उल्लेख गरिएको छ । महानगरका लागि विशेष महत्व मानिने योजनाहरु काठमाडौं महानगरपालिकाको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंग भवन निर्माण, पर्यटन पदमार्ग विकास, कोटेश्वर तीनकुनेमा बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, शहरी यातायात व्यवस्थापन जस्ता कार्यक्रमहरुलाई बजेटको प्राथमिकतामा राखिएको छ ।
सम्वृद्धिका लागि सहकारी अभियान, एकीकृत शिप विकास कार्यक्रम, मेड इन काठमाडौं, जीवन निर्वाहका लागि पारिश्रमिक कार्यक्रम, हप अन हप अफ बस संचालन, प्रविधीमैत्री सिटि लाइब्रेरी, महानगर महिला सहजीकरण केन्द्र स्थापना तथा संचालन, युवासँग मेयर कार्यक्रम र वडा–वडामा मेलमिलाप शिविर संचालन जस्ता महत्वपूर्ण कार्यक्रमहरुका लागि पनि महानगरपालिकाले बजेट विनियोजन गरेको छ ।
गोष्ठी, तालिममा बजेट कटौती, सम्पदा संरक्षण र पूर्वाधारमा जोड
त्यसैगरी काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा सम्पदा संरक्षण तथा सम्बर्दन र पूर्वाधार विकासलाई महत्व दिई बजेट विनियोजन गरेको छ । गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको छ । ‘महानगरबाट संचालित विकास कार्यक्रमको सुनिश्चितताको लागि सुत्रमा आधारित बजेट प्रणाली, महानगरपालिकाको प्रशासनिक सुधार, मितव्ययिता र पारदर्शितापूर्ण कार्य प्रणाली, भ्रष्टाचारमा शून्य सहनशिलता जस्ता नीति तथा कार्यक्रमहरुले महानगरले निर्धारित गरेका लक्ष्य हासिल हुने विश्वास लिएका छौँ’–बजेट प्रस्तुत गर्दै उपप्रमुख खड्की श्रेष्ठले भनिन्–‘हामीबाट संचालित विकासका गतिविधीहरुले समयमा नै लक्ष्य हासिल गरी जनअपेक्षा पूरा गर्न हामी जनप्रतिनिधी, सम्बद्ध कर्मचारी सबैको उच्च निष्ठा, प्रतिबद्धता र सकारात्मक सोच आवश्यक छ भन्ने कुरामा कुनै शंका छैन ।’





























प्रतिक्रिया