गाजामा मानवीय सहयोग रोक्नु ‘अपराध’ हुनसक्छ -आईसीसी

गाजामा मानवीय सहयोग रोक्नु ‘अपराध’ हुनसक्छ -आईसीसी

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का प्रमुख अभियोजकले गाजामा मानवीय सहयोग रोक्नु मानवीय अपराध हुनसक्ने आइतबार चेतावनी दिएका छन् । 

“जेनेभा महासन्धिले प्रदान गरेको राहत आपूर्तिमा अवरोध उत्पन्न गर्नु अदालतको क्षेत्राधिकारभित्र अपराध हुनसक्छ”, कायरोमा पत्रकारहरूसँग करिम खानले भने । उनले इजिप्टको रफाह क्रसिङको भ्रमण गरेपछि सो कुरा बताएका हुन् । उनले अत्यावश्यकीय सामग्रीले भरिएका ट्रकहरू रफाह क्रसिङमा रोकिएको र गाजामा प्रवेश नपाएको बताए । 

“मैले मानवीय सहयोगसहित भरिएका ट्रकहरू त्यहाँ रोकिएको देखेँ जहाँ कसैलाई त्यो सहयोग आवश्यक थिएन, इजिप्टमा रोकिएको थियो, रफाहमा रोकिएको थियो”, उनले भने, “यी आपूर्ति गाजाका नागरिकहरूलाई कुनै ढिलाइ नगरी उपलब्ध गराउनु पर्छ ।”

हाल हमास नियन्त्रित प्यालेस्टिनी क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग प्रवेश गराउने रफाह एउटा मात्र प्रवेश विन्दु हो । हमास नियन्त्रित उक्त क्षेत्रले पूर्ण घेराबन्दी र इजराइली बमबारीको सामना गरिरहेको छ । 

इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासका बन्दुकधारीहरूले सीमा पार गरेर गरेको हमलापछि इजराइलले गाजालाई घेराबन्दी गरेको छ र ठूलो मात्रामा बमबारी सुरु गरेको छ । हमासले गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय जना मारिएका थिए भने हमासले दुई सय ३० नागरिकलाई बन्धक बनाएको थियो । 

इजराइलले गरेको जवाफी हमलामा अहिलेसम्म आठ हजारभन्दा बढी मानिस मारिएको र तीमध्ये आधाजति बालबालिका रहेको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले बताएको छ । 

अक्टोबर २१ मा रफाह क्रसिङमार्फत सीमित सहयोग सामग्री वितरण सुरु भएको थियो र अहिलेसम्म एक सय १७ ट्रक रफाह क्रसिङबाट गाजा प्रवेश गरेका छन् । घेराबन्दी हुनुभन्दा पहिला सहयोग सामग्री र अन्य सामग्री लिएर करिब पाँच सय ट्रक प्रत्येक दिन गाजामा प्रवेश गर्थे । 

गाजामा सर्वसाधारणलाई आधारभूत खाद्यान्न र औषधि सुनिश्चित गर्नका लागि इजराइलले बिना कुनै ढिलाइ ठोस प्रयास गर्नुपर्ने आफूले इजराइललाई स्पष्टरूपमा भन्न चाहेको खानले बताए । 

आइतबार संयुक्त राष्ट्रसङ्घले प्यालेस्टिनी शरणार्थीका लागि उसको एजेन्सी युएनआरडब्लुएले गाजामा सञ्चालन गरेको खाद्यान्न सहायता केन्द्रहरूमा लुटपाट भएपछि सार्वजनिक व्यवस्था बिग्रन सक्ने चेतावनी दिएको थियो । -एएफपी

Skip This
Skip This
Logo