श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने सरकारको निर्णयविरुद्ध अनशन थालेकी भारती शेर्पा पत्रकार सम्मलेनमै बेहोस भएकी छन् ।
सोमबार पत्रकार सम्मेलनमा अरु वक्ताहरुले बोल्ने क्रममा उनी बेहोस भएपछि वीर अस्पताल लगिएको हो । उनी यसअघि सर्वोच्च अदालतमा तारिख लिन जाँदा पनि बेहोस भएर ढलेकी थिइन् ।
भारतीले आफ्नो श्रीमानको हत्यामा संलग्नलाई दिइएको कैद छुटको निर्णय खारेज हुनुपर्ने माग राख्दै असोज १७ गतेदेखि अनसन शुरु गरेकी थिइन् । त्यसपछि दसैं बिदामा अनसन स्थगित गरेकी उनले गत शुक्रबारदेखि पुनः मााइतीघर मण्डलामा अनसन थालेकी छन् ।
नवौं संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आम माफी दिएका थिए । रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आबद्ध थिए । रिगलमाथि २०७२ सालअसार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । साे अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । उक्त घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरेर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।































प्रतिक्रिया