पर्यटनको प्रचुर सम्भावना बोकेको धादिङको ब्रोम्दिङः जहाँ सैलुङ र दामनको विशेषता एकै ठाउँमा पाइन्छ

पर्यटनको प्रचुर सम्भावना बोकेको धादिङको ब्रोम्दिङः जहाँ सैलुङ र दामनको विशेषता एकै ठाउँमा पाइन्छ

केन्द्रबिन्दु
0
Shares

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ मा रहेको रमणीय पर्यटकीय गन्तव्य ब्रोम्दिङको प्रर्वद्धन गर्ने उदेश्यले ब्रोम्दिङ पर्यटन महोत्सव सम्पन्न भएको छ । बेनिघाट रोराङ गाउँपालिका र एनटीपी मल्टिमिडिया ग्रुपको आयोजना, हिमाल मल्टिमिडियाको सहआयोजना, एक्सपल्स राइडर्स क्लबसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो । 

महोत्सवको प्रर्वद्धकको जिम्मेवारी नेपाल पर्यटन बोर्डले लिएको थियो ।

महोत्सवमा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल, बाग्मती प्रदेश सरकारका अर्थमन्त्री बहादुर सिंह लामा, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष विवेक थपलिया, उपाध्यक्ष टापबहादुर श्रेष्ठ, स्थानीय सहित कलाकार, पत्रकार तथा आन्तरिक पर्यटकहरूको उपस्थिति थियो ।

धादिङको बेनीघाट रोराङ गाँउपालिका -१ मा रहेको ब्रोम्दिङ पर्यटकीय दृष्टिले उत्कृष्ट सम्भावना बोकेको गन्तव्यको रुपमा रहेको छ । झण्डै २१ सय मिटर उचाईमा रहेको ब्रोम्दिङबाट गणेश हिमाल, मनास्लु लगायतका हिमश्रृङ्खला स्पष्टसँग देख्न सकिन्छ । तामाङ बस्तीको बाहुल्यता रहेको ब्रोम्दिङ स्थानीय परिकार र उत्पादनले पनि भरिपूर्ण ठाउँ पनि हो । स्थानीय ढिँडो, सिस्नोको साग, लाेकल कुखुराको मासु पाइने ब्रोम्दिङमा तामाङ समूदायले सबैभन्दा धेरै मन पराउने ‘लोकल रक्सी’ प्रशस्त पाइन्छ । नागढुंगा–मुग्लिन सडकखण्डको विशालटारबाट १६ किलोमिटर उकालो लागेपछि पुगिने ब्रोम्दिङ र थामभञ्ज्याङ स्थानीय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य मानिन्छ । ब्रोम्दिङ काठमाडौँबाट चार घण्टाको मोटर यात्रामै पुग्न सकिन्छ ।

गर्मीमा चिसो हुने र हिउँदमा हिउँ पर्ने ब्रोम्दिङ पछिल्लो समय स्थानीय तथा आन्तरिक पर्यटकको रोजाईमा परेको गन्तव्य हो । ब्रोम्दिङलाई शैलुङ र दामनको समिश्रण भएको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा पनि लिन सकिन्छ । जहाँ शैलुङमा देखिने स–साना डाँडा भएका थुम्का छन् भने दामनको जस्तो चिसो मौसम पाइन्छ । शैलुङ र दामनको विशेषता एकै ठाउँमा पाइने र सुन्दर हिमाल तथा गाउँहरुको दृश्यावलोकनका लागि उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा ब्रोम्दिङ परिचित छ ।

ब्रोम्दिङ डाँडाबाट हेटौंडा, रक्सौल, धादिङका विभिन्न ठाउँ देखिन्छन् । आँखै अगाडि सेतै हिमाल प्रष्टसँग देखिने ब्रोम्दिङ मकवानपुर, धादिङ र चितवनको सीमा पनि हो । मकवानपुरको कैलाश गाउँपालिका, धादिङको गजुरी र बेनीघाट रोराङ गाउँपालिकाको केन्द्रका रुपमा रहेको ब्रोम्दिङ गाउँमा हिउँ परेको बेला शैलुङ र हिउँ नपरेको बेला दामनको जस्तो चिसो मौसमी हावाको आनन्द लिन सकिन्छ । ब्रोम्दिङ गाउँ वरपरका अन्य चेपाङ बस्ती, तामाङ बस्ती र डाँडाहरु पनि त्यत्तिकै सुन्दर रहेका छन् । 

 

Skip This
Skip This
Logo