पीसीआर परीक्षणका साथै क्वारेन्टाइन व्यवस्थापन सुधार गर्न सांसदहरुको सरकारलाई ध्यानाकर्षण

पीसीआर परीक्षणका साथै क्वारेन्टाइन व्यवस्थापन सुधार गर्न सांसदहरुको सरकारलाई ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रतिनिधि सभाको शुन्य समयमा सांसदहरुले कोरोना भाइरस परीक्षण बढाउन, क्वारेन्टाइन व्यवस्थित गर्न र लकडाउनका कारण असहज भएको दैनिकीलाई सामान्य बनाउन विशेष प्याकेजको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले दैनिक कोरोना भाइरसका संक्रमितको संख्या बढी रहेकाले पीसीआर परीक्षणको दायरा बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

क्वारेन्टाइनलाई व्यवस्थित बनाउनुको साथै लकडाउनको अवधि भरका लागि कर लगायतको छुट सहितको राहत प्याकेजको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् । सांसद विमला नेपालीले क्वारेन्टाइनमा बलात्कार, गाई गोठमा क्वारन्टाइन जस्ता कुराहरु सुनिनु दुःखद भएको भन्दै व्यवस्थित क्वारेन्टाइन बनाउनका लागि सरकारसँग आग्रह गरिन । उनले प्रधानमन्त्री र रक्षामन्त्रीले कानुन हातमा लिएको आरोप समेत लगाइन । उनले प्रधानमन्त्री र रक्षामन्त्री यो देशको भ्रष्टाचार छानविन समितिको समेत प्रमख हो ? भन्दै प्रश्न समेत गरिन ।

त्यस्तै सांसद मिनबहादुर विश्वकर्माले लकडाउन अवधि भरीको आर्थिक कारोबार र दायित्वबारे सर्वत्र विवाद, वहस र अन्योल देखिएकाले लकडाउन सुरुदेखि अन्तिम सम्मको अवधिलाई शुन्य समय मानेर सबै वर्गलाई राहत पुग्ने गरी राहत प्याकेजको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले भने–‘लकडाउन अवधिको आर्थिक कारोबार र दायित्वबारे सर्वत्र विवाद, वहस र अन्योल देखिएकाले यसको समाधानका लागि सरकारले केही ठोस नीति लिनुपर्ने देखिन्छ । त्यसका लागि लकडाउन सुरु गरेको मितिदेखि अन्तिम दिनसम्मको शुन्य समय मानाँै र यो शुन्य समयमा व्यापार व्यवसाय रहेको घरधनीले घरभाडा नलिने निर्णय गरौँ ।’

सांसद मीना सुब्बाले मृत्युपछि मात्रै कोरोना परीक्षण गरिने, क्वारेन्टाइनमा महिलामाथि बलात्कार हुनु लगायत घटनाले सरकार कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण र रोकथाममा चुकेको देखिएको बताइन् । सांसद भैरवबहादुर सिंहले सुदूरपश्चिममा भारतबाट आउने नेपालीहरुको संख्या बढ्दै गएको तर पीसीआर परीक्षणको रिपोर्ट आउन १५ दिन लाग्ने बताए । साथै उनले सम्भावित जोखिम देखिएकाहरुको पनि समयमै परीक्षण हुन नसकेको भन्दै पीसीआर परीक्षणको दायरा बढाउन माग गरे ।

त्यस्तैगरी सांसद मनकुमारी जिःसि ले महिलाहरुको लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्न माग गरिन । सांसद भीमसेन दास प्रधानले कोरोना भाइरसको संक्रमण बढ्दै गएको तर लकडाउन खुकुलो बनाउँदा सवारी साधनहरुको चाप सँगै सर्वसाधरणको चहलपहल बढेकाले शनिबारसँगै आइतबार पनि सार्वजनिक विदाको व्यवस्था गर्न सरकारसँग माग गरे ।
सांसद भरतकुमार शाहले सरकारले नेपाली श्रमिकलाई विदेश पठाउँदा १० हजार र ल्याउँदा १ लाख २२ हजार तोकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले खेती लगाउने समयमा मलखादको अभाव भएको भन्दै सर्वसुलभ मलखादको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद बृजेशकुमार गुप्ताले सामुदायिक विद्यालयमा विभिन्न नाममा कार्यकर्ता भर्ना गर्ने काम भएको आरोप लगाए । साथै उनले सबै शिक्षकलाई हटाएर स्थानीय शिक्षक नियुक्तिको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । सांसद भवानीप्रसाद खापुङले पाँचथर र तेहथुम जिल्लाको बीचका तमोर खोला लगायतका स्थानमा लामो समयसम्म पुल बन्न नसकेको जानकारी गराए । साथै उनले पुल निर्माण लगायत सुरु गरिएको सडक निर्माण समयमै सम्पन्न गर्ने व्यवस्था मिलाउन आग्रह समेत गरे । सांसह महेश्वर जंग गहतराजले आत्महत्याका घटना र महिला हिंसा र जातीय विभेदका सामाजिक अपराध बढ्ने संभावना देखिएकाले सामाजिक अपराध अन्त्यका लागि सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने बताए ।

Logo