पोखरा महानगरपालिका–१३ स्थित केवलकार मनकामना नर्सरीका रजिता गुरुङलाई फूल बेच्न भ्याई नभ्याई छ । यमपञ्चक सुरु भएदेखि नै उनको व्यस्तता बढेको हो । रजिताको नर्सरीमा फूल किन्ने पुरानै ग्राहकको भीड छ ।
भाइटीकाको अघिल्लो दिनभन्दा आज उनी बिहानैदेखि व्यस्त छिन् । “मेरोमा पुरानै ग्राहकको भीड हुन्छ । तिहार सुरु भएदेखि नै फूल किन्नेहरू आइरहनुहुन्छ,” रजिताले भनिन्, “अझै आज र भोलि त निकै ब्यस्त भइन्छ ।” अघिल्ला वर्षमा जस्तै यो वर्ष पनि उनले चार हजार पाँच सय सयपत्री फूलको विरुवा लगाएकी थिइन् ।
रजिताले फूलको खेती सुरु गरेको आठ वर्ष भयो । विसं २०७३ मा गोरखाबाट पोखरा आएर नर्सरी चलाएदेखि नै उनले तिहारका लागि सयपत्री फूल रोप्न थालेकी हुन्। “सुरुमा नर्सरी खोलियो अनि तिहारमा सयपत्री फूल लगाउन थालेको हुँ,” उनले भनिन्, “यो मौषमी फूल हो । तिहारमा अरु फूलभन्दा यही बढी बिक्री हुन्छ ।”
रजिताले सयपत्रीको प्रतिथुङ्गा पाँच रुपैयाँमा बिक्री गरेकी छिन् । टीकाका दिनसम्म आफ्नोमा भएको सबै फूल बिक्री हुनेमा रजिता विश्वस्त छिन् । “पहिला पनि फूल पु¥याउनै गाह्रो भएकै हो । यो वर्ष पनि उही पुराना ग्राहकहरू आइरहनुभएको छ,” उनले भनिन् “यो वर्ष फूल पनि राम्रो भएको छ । यहाँको सबै सयपत्री फूल बिक्री हुनेमा म विश्वस्त छु ।”
रजिताले यो वर्ष सयपत्री फूल बिक्री गरेर एक लाख पचास हजार रुपैयाँ आम्दानी गर्ने आँकलन गरेकी छिन् । “यो वर्ष फूल बिक्रीबाट डेढ लाख जती आम्दानी गरिन्छ की भन्ने आशा छ,” रजिताले भनिन् “त्यसमा पचास हजार रुपैयाँ जति खर्च भएको छ । आफ्नो मेहनत छुट्टै छ । सबै खर्च कटाउँदा ७०/८० हजार जति फाइदा होला ।”
रजिताको नर्सरीमा अन्य फूलका बिरुवाहरू पनि छन् । सयपत्री, मखमली, गोदावारी, जाडो मौषमका फूलमा फिटुनिया, प्यान्जी (पेन्सी), भ्यागुते (इटरनेम)लगायत फूलको विरुवा छन् । जसले गर्दा रजिता अरु दिन पनि नर्सरीमा व्यस्त रहन्छिन्। नर्सरीमा उनको श्रीमान शङ्कर गुरुङले पनि राम्रै साथ दिइरहेको रजिताले बताइन् । साथै नर्सरीमा दैनिक तीन जना कर्मचारीले काम गरिरहेका छन् ।
फूलको बिरुवा बिक्री अनि सयपत्री फूल बेचेको पैसाले रजिताको परिवार पालिएको उनले बताइन् । “मेरो परिवारमा श्रीमान, म अनि एउटा बच्चा छ । एक जना बहिनी पनि मैसँग बस्छिन् । उनले पनि मलाई नर्सरीमा साथ दिन्छ,” रजिताले भनिन् “नर्सरीबाट वर्षमा यति नै कमाउँछु भन्ने यकिन त छैन् । तर, यहाँको कमाइले खान, लगाउन, अनि दुःख बिमार हुँदा उपचार गर्न पुगेको छ ।” नर्सरीमा काम गर्ने तीन जना कामदार पनि पारिश्रमिकबाट खुसी नै रहेको रजिताले सुनाइन् ।
सानोदेखि नै फूलमा शौखिन भएकाले नर्सरी व्यवसायमा लागेको रजिताले बताइन् । अहिले फूलसँग रमाउने र कमाउने पेसाले आफू सन्तुष्ट रहेको उनको भनाइ थियो । “मन परेको काम गर्न पाएको छु, निकै खुसी छु,” रजिताले भनिन्, “फूलबाट भएको आम्दानीले परिवार पाल्न पाउँदा झनै सन्तुष्ट छु ।”
यो व्यवसायमा झरी अनि असिना पानीको समस्या रहेको रजिता बताउँछिन्। सरकारी निकायमा दर्ता गरेर व्यावसाय गर्नेहरूलाई समस्या परेका बेला साथ दिनुपर्ने उनको तर्क छ । “पोहोर सालको दशैमा झरी पर्दा मैले लगाएको फूललाई धेरै असर गर्यो । क्षति पनि भयो । कहाँ कसलाई भन्ने थाहै भएन्,” रजिताले भनिन्, “सरकारी निकायमा दर्ता गरेपछि सरकार छ भन्ने पनि आभास दिलाउनुपर्छ । अरुले छुट अनुदान के के हो पाए भन्छन् मैले त अहिलेसम्म केही लिएको छैन् ।”































प्रतिक्रिया