प्राथमिकताको क्षेत्रमा मात्रै खर्च गर्ने नीति छः अर्थमन्त्री महत

प्राथमिकताको क्षेत्रमा मात्रै खर्च गर्ने नीति छः अर्थमन्त्री महत

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले जथाभावी बजेट विनियोजन नगरी प्राथमिकताको क्षेत्रमा खर्च गर्ने नीति लिएको बताएका छन्। राष्ट्रिय कर दिवस २०८० कर सप्ताह समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

दिर्घकालिन रुपमा कुन क्षेत्रमा अवसर छ र कुन क्षेत्रमा फाइदा आउने सम्भावना हुन्छ, त्यही हिसाबमा लगानी गर्नुपर्ने अर्थमन्त्री महतको भनाइ छ। ‘आँखा चिम्लेर मैले ऋण लिएँ, लिएपछि भोलि फिर्ता गर्नुपर्दैन जस्तो गरेर त्यसमा नलागौँ’ उनले भने।

बजेट विनियोजन गर्दा अनुशासन कायम गर्ने, जथाभावी विनियोजन नगर्ने, प्राथमिकताको क्षेत्रमा खर्च गर्ने नीति लिइसकेको भन्दै अर्थमन्त्री महतले भने, ‘त्यसको नतिजा विस्तारै आउँदैछ। हाम्रो संरचनामा उदासिनता छ, यस्तै हो भन्ने प्रवृत्ति छ त्यसलाई तोडेर हिँड्नका लागि समय लाग्दोरहेछ। हामी निजी, सरकारी, बाहिर भित्र नभनीकन एउटा लयमा काम गरौं यसले नतिजा आउँछ।’

राजस्वको संरचना परिवर्तन भइरहेको भन्दै उनले आन्तरिक कारोबार पनि अनलाइन र डिजिटल हुन थालेको बताए। उनले भने,‘अब पुरानो सोचबाट भएन, पुरानो व्यवसायहरु हराउँदै गइरहेका छन्, अनलाइन व्यवसायहरु बढ्न थालेका छन्। जसरी व्यवसायको संरचना परिवर्तन भयो त्यसैगरी करको संरचना पनि परिवर्तन हुँदैछ।’

निजी क्षेत्रसहित सबै मिलेर देशको अर्थतन्त्र सुधार गर्नु आवश्यक रहेको भन्दै उनले आन्तरिक राजस्वको आधारमा विनिमयको जिम्मेवारीमा ठूलो चुनौती रहेको उल्लेख गरे। पछिल्लो समय देशको अर्थतन्त्र सुधारको अवस्थातर्फ लागेको दाबी पनि अर्थमन्त्री महतले गरे। 

रोजगारी सिर्जना गर्ने, उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले, ठूलो लगानी सम्मेलनको तयारी भइरहेको उल्लेख गर्दै उनले सम्मेलनमा बाहिरबाट ल्याउने मात्रै नभइ देशभित्रका लगानीकर्ताहरुलाई कहाँ-कहाँ सहजता गर्नुपर्ने हो, त्यो गर्न तयार रहेको उनले बताए। उनले भने,‘हामी यो यो गर्छौ भन्ने कुरा पनि प्रस्तावसहित आए आन्तरिक लगानी र बाह्य लगानी पनि बढाउने योजनाका साथ हामी जाँदैछौँ।’

Skip This
Skip This
Logo