मंगलबार नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासी पूर्वको जिल्ला सम्मेलनमा दिएको अभिव्यक्ति यतिबेला चर्चाको विषय बनेको छ। देउवाको अभिव्यक्तिले काँग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिएको त होइन ? भन्ने जिज्ञासा र बहसले अहिले राम्रै स्थान पाइरहेको देखिन्छ।
प्रायः मौन रहने सभापति देउवाले, धर्मनिरपेक्षतामा विचार गर्न सकिने अभिव्यक्ति दिएसँगै यसलाई चासोको रुपमा हेरिएको छ। केही समूहले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने विषयमा विरोध प्रदर्शन गरिरहेका बेला देउवाले यस्तो अभिव्यक्ति दिएपछि यो विषयलाई चासोका साथ हेरिएको हाे।
नेपाली काँग्रेस हिन्दू राष्ट्रको पक्षमा ढल्किन लागेको त होइन भन्ने बहस यतिबेला चारैतर्फ चल्न थालको छ। गणतन्त्र निर्विकल्प रहेको अभिव्यक्ति दिएका देउवाले धर्मनिरपेक्षता, हिन्दु धर्म, संघीयतालगायतका विषयमा छलफल एवं पुनर्विचार गर्न सकिने बताएका थिए।
सम्मेलनमा देउवासँगै थिए धर्मनिरपेक्ष राष्ट्र हुनै सक्दैन भन्दै मुद्दा उठाउँदै आएका नेता डा.शशांक कोइराला। उनै कोइरालाको क्षेत्र पुगेर देउवाले यसबारे सल्लाह गर्न सकिने बताएसँगै काँग्रेसले यो मुद्दालाई संस्थागत बनाउने हो कि भन्ने चर्चा चल्न थालेको हो। काँग्रेसको १३औँ महाधिवेशनपछि यो मुद्दालाई लिएर केही नेताहरु जोडतोडले लागेका थिए।
देउवाले धर्मनिरपेक्षता खारेजीको पक्षमा रहेको संकेत यसअघि पनि गरेका थिए। गत कार्तिक २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको १२बुँदे पक्षधरको बैठकमा उनले धर्मनिरपेक्षताको विषयमा फरक भनाइ राखे। देउवाले भनेका थिए, ‘हामीले राजतन्त्र त्यागिसकेकाले अब त्यता फर्किंदैनौँ। हामी हिन्दू राज्यकै पक्षमा थियौँ। तर, पछाडि धर्म निरपेक्षता स्वीकार्यौँ।’
काँग्रेसमा अहिले शंकरभण्डारीलगायतका नेताहरुले वैदिक सनातन हिन्दु राष्ट्र हुनुपर्ने माग राख्दै आएका छन्। अघिल्लो महासमितिको बैठकमा नेता भण्डारीसहित डा. शंशाक कोइराला, भीम पराजुलीलगायत नेताका साथमा आधा महासमिति सदस्यहरुले हिन्दू राष्ट्रलाई पार्टीको एजेण्डा बनाउन भन्दै हस्ताक्षर बुझाएका थिए। तर, त्यसबारे देउवाले छलफल नै चलाएनन्। काँग्रेसमा हाल हिन्दु राष्ट्रका पक्षधर ७५ प्रतिशत माथी रहेको आंकलन गरिन्छ।
अहिले महासमितिको बैठकको संघारमा देउवाले हिन्दू राष्ट्रको बारेमा दिएको अभिव्यक्तिले भने उनी लचक बन्नसक्ने संकेत गरेको छ ।पार्टीको महासमिति बैठकको तयारी भइरहेको बेला हिन्दू राष्ट्रको बहस काँग्रेसमा गर्माएको छनक प्रष्ट देख्न सकिन्छ।































प्रतिक्रिया