पछिल्लो समय सुनसरीको बराह क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ।
हिउँद लागेसँगै बराह क्षेत्र धाममा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या दैनिक वृद्धि हुँदै गएको बराह क्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले जानकारी दिए। उनले भने, “हिउँद लागेसँगै विशेषगरी कात्तिके मेला र माघीमेलामा बढी तीर्थालु भक्तजन बराह क्षेत्र मन्दिर आउने गरेका छन्।”
बराहक्षेत्र मन्दिरमा पूजाआजा एवं कोकाकौशिका नदी र सप्तकोशीको जलले स्नान गर्न धार्मिक पर्यटक यहाँ आउने गर्दछन्। उनले भने,“यसपटकको कात्तिकेमेलामा झण्डै चार लाख पर्यटक बराहक्षेत्र आएका छन्। ”
बराहक्षेत्र मन्दिरमा प्रत्येक वर्ष हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म कात्तिकेमेला लाग्ने गर्दछ। मेलामा नेपाल विभिन्न जिल्ला सहित भारतको बिहारबाट तीर्थालु भित्रिने गरेको बराहक्षेत्र नगरपालिका वडा नं १ का वडाध्यक्ष किसन थापाले बताए।
चार क्षेत्रमध्येको एक क्षेत्र मानिएको बराहक्षेत्रमा हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल रहेको बराहक्षेत्र मन्दिरका प्रधान पुजारी किरण भण्डारी बताउछन्। उनले भने, “किंवदन्तीअनुसार पृथ्वी आकाशगङ्गामा हराएको बखत सम्पूर्ण प्राणीजगत्को उद्धार गरेर यस ठाउँमा बराह भगवान्को अवतार भएको मानिन्छ। यही विश्वासले महिमागान गर्दै बराहक्षेत्रको दर्शन गर्न तीर्थालु आउने गर्दछन्।”
बराहक्षेत्रको दर्शन गर्नाले सुख, शान्ति प्राप्ति हुने विश्वास छ। साथै बराहक्षेत्र मन्दिरमा भाकल गर्ने, पूजा गर्ने, कोकाकौशिका नदीमा स्नान गर्नाले पाप नष्ट भइ आनन्द प्राप्त हुने जनविश्वास छ।





























प्रतिक्रिया