एकैदिनका खबर एकैपटकः टेकनाथ रिजालले बुझाए धरौटी, एक वर्षमा १६ सय सरकारी कर्मचारी कारबाहीमा [भिडियाेसहित]

एकैदिनका खबर एकैपटकः टेकनाथ रिजालले बुझाए धरौटी, एक वर्षमा १६ सय सरकारी कर्मचारी कारबाहीमा [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको छ।

टेकनाथ रिजालले बुझाए धरौटी, तर भोलिसम्म थुनामै रहने

भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेका नेता टेकनाथ रिजालले उच्च अदालत पाटनले तोकेको धरौटी रकम बुझाएका छन्। आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएका हुन्। 

गत मंसिर १५ गते उच्च अदालत पाटनले १५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएपनि धरौटी बुझाउन नसकेपछि उनी कारागारमै बस्दै आएका थिए। उनले धरौटी रकम बुझाए पनि आइतबार कार्यालय समय सकिएकाले रिहा हुन पाएनन्।सोमबार र मंगलबार सरकारी कार्यालय बिदा परेका कारण उनी सम्भवतः बुधबार रिहा हुनेछन् ।
 

पर्यटनमन्त्री किरातीको बर्खास्तीको माग गर्दै विरोध प्रदर्शन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको बर्खास्तीको माग गर्दै प्रदर्शन भएको छ ।सनातन धर्मावलम्वीहरु सोमबार गौशालादेखि विभिन्न नाराबाजी गर्दै मन्त्री किरातीको बर्खास्तीको माग राखेर संसद भवन घेराउ गर्न बानेश्वर आइपुगेका हुन् । उनीहरुले शंख फुक्दै मन्त्री किराँतीको राजीनामा मागेका थिए ।

बक्यौता तिर्न बाँकी ६१ मध्ये ९ वटा उद्योगको लाइन काटियो

नेपाल विद्युत् प्राधिकरणले ४ दिनमा ९ वटा उद्योगको लाइन काटेको छ । गत शुक्रबार नेपाल विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोगको बक्यौता नतिर्ने ४ वटा ठूला लाइन काटेको थियो ।

जसमा जगदम्बा स्टिल ४ अर्ब १४ करोड, घोराही सिमेन्ट १ अर्ब ३६ करोड, रिलायन्स स्पिनिङ मिल्सले १ अर्ब ९४ करोड र अर्घाखाँची सिमेन्टले १ अर्ब ३० करोड बक्यौता तिर्न बाँकी रहेको छ।

आइतबार राति दुई चरणमा गरेर ५ वटा ठूला उद्योगको लाइन प्राधिरणले काटेको हो । सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल प्रालि र त्रिवेणी स्पिनिङ मिल्सको बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटेको हो ।

राष्ट्रिय सतर्कता केन्द्रले ३५६ कर्मचारीलाई गर्याे कारबाही

राष्ट्रिय सतर्कता केन्द्रले ३५६ वटा सरकारी कार्यालयहरूको अनुगमन गरेर १ हजार ५ सय ८६ कर्मचारीहरूलाई कारबाहीका लागि सिफारिस गरेको छ।

यो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षमा प्राप्त गरेको उपलब्धी सार्वजनिक गर्न तयार पारेको पुस्तिकामा उल्लेख छ। साथै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दर्ता भएका २४ हजार २०१ उजुरीमध्ये १६ हजार ७३२ उजुरी फर्छ्यौट गरिएको विवरणमा उल्लेख छ।

देशभर १७ हजार भन्दा बढी पशु चौपाया लम्पी स्किनका सक्रिय संक्रमित

देशभर १७ हजार भन्दा बढी पशु चौपाया अझै लम्पी स्किनका सक्रिय संक्रमित छन्। १७ हजार ३ सय लम्पी स्किनका सक्रिय संक्रमित पशु चौपाया रहेको पशु सेवा विभागले जनाएको छ।

देशभर कुल गाईभैंसीको संख्या ७५ लाखमध्ये १५ लाख ३६ हजार पशु संक्रमित भएका थिए। हालसम्म ६५ हजार ४ सय पशु चौपायाको मृत्यु भइसकेको छ।

भूकम्पका लाभग्राही ८० हजार पुग्ने अनुमान

जाजरकोट भूकम्पका लाभग्राहीको संख्या बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको संख्या ६७ हजार सात सय ८० पुगिसकेको छ।

यसअघि ५९ हजार भन्दाबढी लाभग्राही कायम भएकामा पछिल्लो अध्यावधिक तथ्याङ्कमा झण्डै ९ हजार थपिएका हुन्।विवरण संकलनको क्रम जारी रहेकाले सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ।

जाडो बढेपछि मनाङका विद्यार्थीलाई काठमाडौंको स्वयम्भूमा पढाउन थालियो

हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेसँगै चिसो छल्न काठमाडौं झरेका विद्यार्थीको पढाइलाई मध्यनजर गरी नार्पाभूमि गाउँपालिकाले पहिलो पटक ‘घुम्ती कक्षा’ सञ्चालन गरेको छ।

अधिकांश विद्यार्थी काठमाडौँमा रहेकाले पठनपाठन निरन्तर गराउने उद्देश्यले स्वयम्भूमा घुम्ती कक्षा सञ्चालन गरिएको हो। यो समयमा मनाङमा विद्यालय चार महिना पूर्णरूपमा बन्द हुनेहुँदा विद्यार्थीको पठन पाठनमा समस्या हुँदै आएको छ।

युक्रेनमा पहिलो पटक डिसेम्बर २५ मा क्रिसमस मनाइयो

यो बर्ष युक्रेनले पहिलो पटक डिसेम्बर २५ मा क्रिसमस मनाएको छ । करिब दुई वर्षअघि रूसले आक्रमण शुरू गरेको युक्रेनमा जनवरी ७ को परम्परागत दिन (अर्थोडक्स डेट) लाई बेवास्ता गर्दै डिसेम्बर २५ मा नै क्रिसमस मनाउने घोषणा गरेको हो।

जनवरी ७ लाई रूसी क्रिश्चियन धर्मावलम्बीहरूले विशेष दिनका रूपमा लिने गर्छन् भने रूसी परम्पराको विरोधका लागि युक्रेनले यो कदम चालेको हो। 

प्रधानमन्त्री कप महिला क्रिकेटः एपीएफको लगातार चौथो जित

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब लगातार चौथो खेलमा विजयी भएको छ ।सोमवार भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ८ विकेटले हराएको हो। यो जितसँगै एपीएफ ४ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । 

चारमध्ये ३ खेल जितेका कोशी र सुदूरपश्चिम प्रदेश क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । सुदूरपश्चिम साविक विजेतासमेत हो । यता ४ खेलमध्ये २ खेल जितेर ४ अंक जोडेको बागमती समूहको चौथो स्थानमा रहेको छ ।

२ खेल नै जितेको लुम्बिनी प्रदेश पाँचौ स्थानमा रहँदा एक खेलमा जित निकालेको गण्डकी र मधेश क्रमशः छैटौँ र सातौं स्थानमा रहेको छ। कर्णाली प्रदेश भने ४ खेलमा नै पराजय भोग्दै समूहको पुच्छरमा रहेको छ ।

Skip This
Skip This
Logo