भन्सार विन्दुमा रहेका सवारीसाधन रिएक्सपोर्ट गराउन व्यवसायीको दौडधुप, अर्थमन्त्रीसँग छलफल

भन्सार विन्दुमा रहेका सवारीसाधन रिएक्सपोर्ट गराउन व्यवसायीको दौडधुप, अर्थमन्त्रीसँग छलफल

केन्द्रबिन्दु
0
Shares

अटो व्यवसायीले नेपालबाट सवारीसाधनको रिएक्सपोर्टको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। अटो व्यवसायीको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पदाधिकारीले बिहीबार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटेर रिएक्सपोर्टको व्यवस्था गर्न माग गरेका हुन्।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले बिक्री हुन नसकी भन्सार विन्दुमा रहेका सवारी तथा ढुवानीका साधनहरुलाई कुनै पनि मुलुकमा रिएक्सपोर्ट गर्न सकिने व्यवस्थाको परिकल्पना आर्थिक ऐनले पनि गरेको बताए। उनले ती सवारी तथा ढुवानीका साधन रिएक्सपोर्ट गर्नका लागि सहजीकरण गरिदिन आग्रह गरे।

नाडाका अध्यक्ष ध्रुव थापाले भन्सार विभागले वीरगंज र भैरहवा भन्सार परिसरमा रहेका सामान छुटाउन गरेको आग्रह कार्यान्वयन गर्न समस्या रहेको बताए। अन्य सामानको तुलनामा सवारी तथा ढुवानीका साधनका लागि समय धेरै चाहिने भन्दै भन्सारमा आइसकेका गाडीको हकमा मसार मसान्तसम्मको समय दिन आग्रह गरे। विभागले गत मंसिर १० मा सार्वजनिक सूचना जारी गर्दै सवारी तथा ढुवानीका साधन छुटाउन भनेको थियो।

छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालमा उत्पादन हुने ब्याट्रीको निर्यातमा अन्य बस्तुले पाउनेसरहको छुट उपलब्ध गराउन आग्रह गरेको नाडाले जनाएको छ।

Logo