ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रहरीको गोली लागेर ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने तथा घाइतेको उपभार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।
आजै बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले राहत सिफारिस गरेको थियो । त्यसलाई मन्त्रिपरिषद् बैठकले सरकारको निर्णयको औपचारिकता दिएको हो । बैठकको निर्णय सुनाउँदै उनले भनिन्, ‘मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ उपलब्ध गराउने, उक्त घटनामा घाइते भएका सबैको उपचार खर्च सरकारले बेहोर्ने निर्णय भएको छ ।’
यस्तै, बैठकले मन्त्रीको सुरक्षादेखि प्रदर्शनसम्मको घटनामा सुरक्षा चुक भएको निष्कर्ष निकालेको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जानकारी शर्माले दिइन् ।
पानीजहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा डोटीका २२ वर्षीय वीरेन्द्र साह र दैलेखका २३ वर्षीय सुजन रावत छन् ।





























प्रतिक्रिया