नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बचाउ गरेका छन् ।
सोमबार काठमाडौंमा कांग्रेसको राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले बालकुमारी घटनामा मन्त्री प्रकाश ज्वाला सरकारी कामकाजको सिलसिलामा जाँदा फसेको भन्दै कुनै दोष नरहेको स्पष्ट पारेका हुन् ।
उनले भने, ‘बालकुमारीमा नेकपा एकीकृत समाजवादी पार्टीको बैठक केन्द्रीय कमिटीको बैठक बसिरहेको थियो । हामी बैठकमा व्यस्त थियौं । थाहा भएन । त्यसपछि उहाँ अरु कुनै होइन सरकारी कामकाजको सिलसिलामा बैठकबाट बाहिर निस्किनु भएको थियो, त्यहाँ फस्नुभएको हो । सूचनाको कुनै अभाव रहन पुग्यो फलस्वरुप त्यो घटना घटेको हो । यसलाई अन्यथा नलिनु होला । प्रष्ट पार्नुपर्ने भएर भनेको हुँ । पार्टीले यस घटनालाई गम्भीरतापूर्वक लिएको छ ।’
गत शुक्रबार बालकुमारीमा मन्त्री ज्वाला सवार गाडीमा आगजनी र तोडफोड भएको थियो । घटनामा प्रहरीको गोली र बल प्रयोगबाट दुई युवकको ज्यान गएको थियो । घटनापछि संसदीय समितिले मन्त्री ज्वालामाथि अनुसन्धानको माग उठाएको छ । त्यस सन्दर्भमा अध्यक्ष नेपालले आफ्नो दलबाट मन्त्री बनाइएका नेता ज्वालाको बचाउ गरेका हुन् ।
नेता नेपालले कार्यक्रममा नेपाली कांग्रेसले ०३३ साललाई जोडेर फेरि राष्ट्रिय मेलमिलापको कुरा गरेपछि आफ्नो मनमा चिसो पसेको बताए । राजावादीले टाउको उठाइरहेका बेलामा कांग्रेसले मेलमिलापको कुरा गर्दा राजासँगको सहकार्यका लागि त होइन भनेर आफ्नो मनमा चिसो पसेको बताएका हुन् ।
‘सुरुमा त मलाई यो कार्यक्रमबारे सुन्दा मलाई कता कता के भयो यो नेपाली कांग्रेसलाई ? राष्ट्रिय मेलमिलापको कुरा पो आज उठ्दैछ । त्यो पनि २०३३ सालसँग जोडेर भन्ने लाग्दाखेरि त्यो बेलामा राजासँगको सहकार्यको कुराले गर्दा अलिकति मलाई मनमा चिसो चाहिँ पसेको थियो । फेरि सहकार्यको विचार नेपाली कांग्रेसमा आयो कि के हो ? नेपाली कांग्रेसमा थरिथरिका विचारहरु हुन्छन्,’ उनले भने, ‘अहिले भएकाले फेरि अहिले राजावादीले टाउको उठाइरहेका बेलामा, प्रतिगमनकारी शक्ति फेरि चलमलाइरहेको र फागुन ७ देखि आन्दोलनको घोषणा गरिरहेको बेलामो के पो होला भन्ने लागेको थियो ? पछि यसो बुझ्दा गणतन्त्र पक्षधरको बीचमा नयाँ एकता गर्ने मान्यताका साथ कार्यक्रम गरिरहेका छौं भनेपछि ढुक्क भएँ म ।’





























प्रतिक्रिया