नेपाल भित्रियाे कोरोनाको नयाँ भेरियन्ट जेएन१, ईपीएसकाे परीक्षा विवाद पनि टुंगियाे [भिडियाेसहित]

नेपाल भित्रियाे कोरोनाको नयाँ भेरियन्ट जेएन१, ईपीएसकाे परीक्षा विवाद पनि टुंगियाे [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

ओमिक्रोनको नयाँ (सब-भेरियन्ट जेएन १) नेपालमा पनि पहिलो पटक पुष्टि

ओमिक्रोनको नयाँ सब (भेरियन्ट जेएन १) नेपालमा पनि पहिलो पटक पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन। १ को सङ्क्रमण पुष्टि भएको हो।

देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ मा गरिएको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा ओमिक्रोनको सब भेरियन्ट जेएन। १ नेपालमा पहिलो पटक पुष्टि भएको हो।

कोरिया भाषा परीक्षालाई लिएर उत्पन्न भएको विवादको समाधान

कोरिया भाषा परीक्षालाई लिएर उत्पन्न भएको विवादको समाधान भएको छ। भाषा परीक्षा लिने कोरियाको मानव संसाधन विकास सेवा एचआरडीका निमित्त प्रमुखसँग वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले गरेको छलफलमा सबै परीक्षार्थीहरुलाई तीनवटा लटमा विभाजन गरेर परीक्षा दिन लगाउने सहमति जुटेको हो। योसँगै नेपाली युवाको माग र अदालतको आदेश बमोजिम इपीएसका लागि आवेदन गर्ने सबै परीक्षार्थीले परीक्षा दिन पाउने भएका छन्। 

राष्ट्रिय सभा  निर्वाचनका लागि ५२ जना उम्मेदवारको मनोनयन दर्ता

आगामी ११ माघमा १९ सिटका लाग हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ। निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज सोमबार १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको हो।

सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। 

ट्रंक र डेडिकेटेड महसुल विवाद समाधान गर्न प्रधानमन्त्रीकाे  निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रंक र डेडिकेटेड महसुल विवाद समाधान गर्न मध्यमार्गी उपायको खोजी गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।सोमबार दिउँसो सिंहदरबारमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका मन्त्री, सचिव र अन्य पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, “संसदीय समिति र अख्तियारको निर्देशन पनि हेरौं। महान्यायधिवक्ता कार्यालयको राय पनि लिउँ। त्यसपछि बक्यौता पनि उठ्ने र उद्योगहरू पनि सुचारू हुने बिकल्प खोजेर समाधानतिर लाग्नुस्।”

जीउँदै आमा छोरीलाई मृत घोषणा गर्ने वडा अध्यक्षसहित स्थानिय १० जनामाथि  मुद्दा दर्ता

जीउँदै रहेका आमा छोरीलाई मृत घोषणाको सिफारिस गर्ने बर्दियाको मधुबन नगरपालिकाको वडा नं ७ का वडा अध्यक्ष सहित स्थानिय १० जना माथि जिल्ला अदालत बर्दियामा सोमबार जालसाज मुद्दा दर्ता भएको छ।

नेपालगन्ज राझाकी नरमाया घर्ति र उनकी छोरी शषा गुरुङले जीबित मान्छेलाई लामो समयदेखि बेपत्ता भएको भन्ने जालसाझपुर्ण सरजमिन मुचुल्का तयार पारी मृत्युको न्यायिक घोषणा गर्न सिफारिस गरेको जनाउदै वडा अध्यक्ष राजेन्द्र हमाल, वडा सदस्य बालकुमारी केसी, वडा सचिब बिमल भण्डारी लगायतका बिरुद्ध बर्दिया जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन्।

सबै नागरिकमा स्वास्थ्य बीमा पुर्याउने लक्ष्यसहित सरकारले १६ औं आवधिक योजनाको मस्यौदा तयार

सबै नागरिकमा स्वास्थ्य बीमा पुर्याउने लक्ष्यसहित सरकारले १६ औं आवधिक योजनाको मस्यौदा तयार पारेको छ। राष्ट्रिय योजना आयोगले तयारी पारेको १६ औं योजनाको मस्यौदामा मानव पूँजी निर्माणतर्फ स्वास्थ्य क्षेत्रमा आर्थिक वर्ष (आव) २०८५-८६ सम्म कुल बजेटको १० प्रतिशत हिस्सा पुर्याउने लक्ष्य लिइएको छ। १६ औं आवधिक योजनाको आधार वर्ष मानिएको आव २०७९-८० मा कुल वार्षिक बजेटमा स्वास्थ्य क्षेत्रको बजेटको हिस्सा ५.७५ प्रतिशत मात्र रहेको छ।

मुलुकलाई सही बाटोमा हिँडाउन  राष्ट्रपति  पौडेललाई सुझाव

राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक समाजका अगुवा तथा प्रवुद्ध व्यक्तिले देशमा देखिरहेका वेथिति र अव्यवस्थालाई अन्त्य गरेर मुलुकलाई सही बाटोमा हिडाउन ‘मोरल अथोरिटी’ प्रयोग गर्न सुझाव दिएका छन्।

सोमवार राष्ट्रपति निवासमा भएको छलफलमा प्रबुद्ध नागरिकले राष्ट्रपतिलाई संविधानले कार्यकारी भूमिका नदिए पनि अभिभावकको हैसियतले नैतिक अधिकार प्रयोग गरेर सम्बद्ध पक्षलाई सही मार्गमा जान प्रेरित गर्नुपर्ने बताएका हुन्।

हत्याका आरोपीलाई साधारण तारेखमा छाड्ने सर्वोच्च अदालतका न्यायाधीशलाई कारबाहीको माग गर्दै संसदमा निवेदन

गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बेला बाजुराको त्रिवेणी नगरपालिकामा भएको हत्याका आरोपीलाई साधारण तारेखमा छाड्ने सर्वोच्च अदालतका न्यायाधीशलाई कारबाहीको माग गर्दै संसदमा निवेदन परेको छ।

मृतकका बुबा गगने अयडीले सभामुखलाई सम्बोधन गरिएको पत्र संसद सचिवालयमा बुझाएका छन् ।प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाएका आरोपीलाई साधारण तारेखमा छाड्न पुस १९ गते आदेश गरेको थियो। उक्त आदेशमा न्यायधीशबाट न्यायिक विचलन भएको तथा कानूनमन्त्री धनराज गुरुङ र सरकारको दबाब देखिएको निवेदकको दाबी छ।

१४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई पूर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश

१४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई पूर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले आइतबार उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

विमानस्थल भन्सार कार्यालयले २२ मंसिरमा यूएईबाट ल्याइएको १४ किलो सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा गोरखाका मीनबहादुर घलेसहित अन्य पक्राउ परेका थिए।

कल्भर्टमुनि बोरामा पोको पारेर फालेको अवस्थामा भेटिएका पुरूष र महिलालाई महिलाका पतिले मारेको खुलासा

झण्डै २ महिनापछि भरतपुरको मिलन चोक नजिकै कल्भर्टमुनि बोरामा पोको पारेर फालेको अवस्थामा भेटिएका पुरूष र महिलालाई महिलाका पतिले मारेको खुलासा भएको छ। मृतक र हत्यामा संलग्न सबै भारतीय नागरिक हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसार भारतको विहारस्थित पूर्वी चम्पारणका ३३ वर्षीय अखिलेश भगतले श्रीमति र उनको केटा साथीको हत्या गरेको खुलेको हो। मंसिर २ गते उनीहरूको हत्या गरेको अनुसन्धानबाट खुलेको हो।

सेयर बजार परिसूचक नेप्से ३६ अंकमाथिले वृद्धि

सेयर बजार परिसूचक नेप्सेमा सोमबार ३६ अंकमाथिले वृद्धि भएको छ। अघिल्लो दिन २६ अंकले घटेको बजारमा आज दोसो दिन नेप्से सूचक ३६.५७ अंकले बढ्दै  दुइ हजार ५९ दशमलव ४९ अंकमा उक्लिएको हो। आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.२७ अंकले बढ्दै तीन सय ७७ दशमलव २८ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। 

भारतको आगरामा एटीएम मेसिन चोरी

भारतको आगरामा आइतबार राति एउटा एटीएम मेसिन नै चोरी भएको छ। एसबीआई बैंकको एटीएम मेसिन राति करिब अढाई बजे चोरी भएको हो ।चोरीको उक्त घटना सीसीटीभी क्यामेरामा कैद भएको छ।

चार–पाँच जनाको समूहले एटीएम मेसिनलाई एउटा पिकअप भ्यानमा राखेको सीसीटीभी फुटेजमा देखिन्छ। एटीएम मेसिन रहेको घरकै माथिल्लो तलामा बस्दै आएका रामनिवास रावतले राति आवाज आएपछि प्रहरीलाई खबर गरेका थिए। केही बेरमा प्रहरी आएर हेर्दा एटीएम मेसिन नै गायब थियो।

एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा 

सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। सोमबार भएको समूह ‘ए’ को खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटले हराउँदै एक खेलअघि नै अन्तिम ४ मा स्थान बनाएको हो।

यो जितसँगै एपीएफले ३ खेलमा ९ अङ्क जोडेको छ। साथै आजै भएको समूह ‘बी’ को खेलमा गण्डकी प्रदेशलाई हराउँदै आर्मी एक खेलअघि नै अन्तिम ४ मा पुग्यो।

Skip This
Skip This
Logo