राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि उम्मेदवारविरुद्ध दाबीविरोध र उजुरीउपर छानबिनको समय तोकिएको छ। सोमबार मनोनयन दर्ता गरेको उम्मेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने समय तोकिएको थियो।
मनोनयन दर्ता गरेका दुई जना उम्मेदवारविरुद्ध उजुरी परेकाले आज र भोलि छानबिन हुने निर्वाचन आयोगले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) का दलित समूहका उम्मेदवार विष्णु बिकविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ।
भट्टविरुद्ध एमालेका उमेदवार रामचन्द्र जोशीले अपांगतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उम्मेदवार बिकविरुद्ध एमालेकै उम्मेदवार हिक्मत बिकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका छन्।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज र भोलि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ। २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।
पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ।































प्रतिक्रिया