काठमाडौं ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण बैंकमा पैसा थुप्रिन थालेपछि बैंकले कल डिपोजिटको ब्याजदर घटाउन थालेका छन् ।
कोरोना भाइरसको संक्रमण फैलिएसँगै बैंकिङ क्षेत्रमा पनि यसको असर परेपछि नयाँ कर्जा प्रवाह हुन सकिरहेको छैन । बैंकले निक्षेप मात्रै संकलन गर्ने तथा कर्जा लगानी गर्न नपाउँदा बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य रकम) थुप्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा ६५ अर्ब रुपैँयाँको हाराहारीमा तरलता छ । कोरोनाका कारण सरकारले गत चैत ११ गतेदेखि मुलुकै भरी लकडाउन गरेको छ । सो बेलादेखि बैंकको नयाँ कर्जा प्रवाह रोकिएपछि बैंकहरुले बैशाखमा कल डिपोजिटको ब्याजदर घटाएका हुन् । बैंकले चैतमा कल डिपोजिटमा औसत ४.२९ प्रतिशत रहेको ब्याजदर बैशाखमा २.८३ प्रतिशतमा झारेका छन् । कोरोनाका कारण बैकहरुको औसत निक्षेपको ब्याज दर ६.७४ बाट ६.४४ प्रतिशतमा झारेका छन् ।
बैंकहरुले कल डिपोजिटको मात्र होइन, बचत र मुद्दति खाताको ब्याजदर समेत घटाएका छन् । बचत खाताको ब्याज ४.७२ बाट ४.२७ प्रतिशतमा झरेकोे छ । त्यसैगरी, मुद्दतिको ब्याजदर ९.७३ बाट ९.४५ प्रतिशतमा झरेको छ । यो औसत ब्याजदर हो । लागत कम भएपछि ऋणको ब्याज पनि ११.७७ प्रतिशतबाट घटेर १०.९९ प्रतिशतमा झरेको छ ।
के हो कल डिपोजिट खाता ?
कल डिपोजिट कम समय अवधिका लागि निक्षेप राख्ने एक प्रकारको निक्षेप खाता हो । छिनछिनमा धेरै रकमको कारोबार संघ, संस्था वा व्यवसायीका लागि यस्तो खाता खोलिन्छ । त्यस्ता संघ, संस्था वा कम्पनीले बचत खाता खोल्न नपाउने भएकाले ब्याज आउने गरी कल डिपोजिटमा पैसा राख्ने सुविधा उपलब्ध गराइएको हुन्छ ।
यस्तो खातामा वा बचतमा दिइने ब्याजदर अधिकतम बैंकहरुको बचत खातामा दिने न्यूनतम ब्याज बराबर नै हुन्छ । यस्तो खातामा तत्काल धेरै रकम बचत गरिन्छ तर रकम झिकिने टुंगो हुँदैन । प्रायः व्यवसायी तथा ठूला व्यावसायिक घरानाहरूले यही खातामा बचत गर्ने गर्छन् । अल्पकालीन प्रकृतिको हुने भएकै कारण बैंकहरूले पनि यो खातामा केहीले धेरै त कहिले कम ब्याज दिने गर्छन् ।































प्रतिक्रिया