लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री प्रचण्ड

लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताएका छन् । 

काठमाडौँको टुँडिखेलमा मगर समुदायले माघी पर्वका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निरंकुशताका विरूद्ध संघर्षका योद्धा लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने जनाउँदै त्यसका लागि आफ्नो तर्फबाट पहल गर्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘‘शासक वर्गको कठोर निरंकुशता विरूद्ध लड्न जनस्तरबाट उठेका एक क्रान्तिकारी नेता लखन थापालाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने तपाईहरूको मागप्रति म पूर्ण रूपमा सहमत छु । यसले देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताको विरूद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण सहिदप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाको सम्मान हुनेछ ।”

नेपालमा बसोबास गर्ने विविध जाति एवं जनजातिहरूले आआफ्नै ऐतिहासिक मान्यता र संस्कृतिअनुसार फरक–फरक रूपमा मनाउने माघे सङ्क्रान्ति र माघी पर्वको सुखद् अवसरमा प्रधानमन्त्रीले शुभकामना व्यक्त गरे ।

यो पर्व सांस्कृतिक विशेषता र विविधतायुक्त मात्र नभएर वैज्ञानिक मान्यतामा आधारित रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, “प्रकृतिवादी समुदाय हुनुको नाताले मगर समुदायका आफ्ना गतिविधि, परम्परा र संस्कृति प्रकृतिमा आधारित रहने गर्दछन । माघी पर्व, उधौली–उभौली जस्ता संस्कृतिहरू मगर समुदायले ऐतिहासिक परम्परा र जीवनवृत्तिमा आधारित छन् ।”

प्रकृतिको सम्मान स्वरूप पूजापाठ गर्ने, आफ्नो पितृलाई सम्झने–पूज्ने र चेलिबेटीलाई आफ्नो घर बोलाएर मिष्ठान भोजन खुवाउने प्रचलन मगर समुदायमा रहिआएको छ ।

माघी पर्व शिकारी युगबाट कृषि युगमा प्रवेशको संक्रमणपूर्व प्रकृतिमा पाइने तरूल, भ्याकुर, कन्दमुल जस्ता परिकार खुवाउने, आशिर्वाद दिने जस्ता कार्यहरू हुने भएकाले माघे सङ्क्रान्ति मगर जातिको राष्ट्रिय सांस्कृतिक पर्व रहेको उनको कथन छ ।  सोही यथार्थलाई सम्बोधन गर्न आफ्नो नेतृत्वको सरकारले माघी पर्वमा राष्ट्रिय विदा दिने निर्णय गरेको समेत उनले स्मरण गरे ।

भौगोलिक रूपले यति सानो मुलुकमा हामीले जातीय, भाषिक, सांस्कृतिक रूपमा जुन विविधता प्राप्त गरेका छौँ, यो नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्ति भएको प्रधानमन्त्रीको भनाइ छ ।

Logo