भूकम्पबाट बच्न भूकम्प थेग्ने संरचना बनाउनुको विकल्प छैनः मन्त्री गुरूङ

भूकम्पबाट बच्न भूकम्प थेग्ने संरचना बनाउनुको विकल्प छैनः मन्त्री गुरूङ

केन्द्रबिन्दु
0
Shares

सहरी विकासमन्त्री सीता गुरूङले भूकम्पबाट बच्न भूकम्पीय जोखिमलाई थेग्न सक्ने संरचना बनाउनुको विकल्प नभएको बताएकी छिन्। 

मंगलबार २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै मन्त्री गुरूङले गाउँ–गाउँमा समेत स्थानीय श्रोत र प्रविधिको प्रयोग गरेर भूकम्पीय जोखिम न्यूनीकरण गर्ने गरी संरचनाहरू बनाउन सकिने बताएकी हुन्।

सरकारले भवन निर्माण संहिता र मापदण्ड जारी गरेर लागू गरेको भन्दै मन्त्री गुरूङले त्यसको कार्यान्वयनमा समेत सबैले जोड दिनुपर्ने बताएकी छन्। 

‘सरकारले राष्ट्रिय भवन संहिता र मापदण्ड जारी गरेको छ।  अहिलेसम्म त्यसको कार्यान्वयनमा स्थानीय तहले धेरै चासो दिएको अवस्था छैन,’ मन्त्री गुरूङले भनिन्,‘यदि स्थानीय तहले त्यसको पूर्ण कार्यान्वयन गर्ने हो र स्थानीय श्रोत साधन तथा प्रविधिको उच्च उपयोग गर्ने हो भने भूकम्पीय जोखिमलाई कम गर्न सकिन्छ। हाम्रो पूर्वाधार हाम्रै ज्यानको असुरक्षाको आधार बन्न पाउँदैनन्।’

भूकम्प जुनसुकै बेला पनि आउनसक्ने भएकाले सबै खालको पूर्वतयारी रहेको उनको भनाइ थियो।  ‘भूकम्पबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबैले सतर्कता अपनाउन आवश्यक छ,’ उनले भनिन्, ‘राष्ट्रिय भवन संहिता र मापदण्डको अनिवार्य पालना गर्ने र स्थानीय श्रोतसाधनको उपयोग गर्ने हो भने भूकम्प थेग्ने संरचना खडा गर्न सकिन्छ।’

Logo