नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले समान अधिकारका लागि महिलाहरु नै लड्नुपर्नेमा जोड दिएकी छन् ।
बुधबार स्वयम्भुमा आयोजित सामाजिक तथा आर्थिक शसक्तिकरण, उद्यमशिलता विकासमा महिला नेतृत्व र वित्तिय साक्षरतासम्बन्धी तालिममा बोल्दै सहमहामन्त्री उपाध्यायले पितृसतात्मक सोच रहेको समाजमा समान अधिकारका लागि महिला आफैले नेतृत्व गर्नुपर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘हाम्रो पितृसतात्मक सोच रहेको समाजमा पुरुषहरुमा जन्मनेवित्तिकै महिलाभन्दा हामी माथि हुँ भन्ने सोच उत्पन्न हुँदो रहेछ, त्यो आज पनि छ । त्यो विभेद मैले पनि भोगेको छु । घरबाट चाँही होइन, समाजका हरेक क्षेत्रमा, राजनीतिक क्षेत्रमा । मभन्दा जुनियरहरुले पार्टीमा पद, प्रष्तिष्ठा पाइरहेका छन् जुन मैले पाएको छैन । किनभने म एउटा महिला हुँ ।’
उनले थपिन्, ‘अब महिलाकै नाममा लड्ने हो । म आज जहाँ पुगेको छु, महिलाकै नाममा लडेरै पुगेको छु त्यो मैले पाएको छु । महिला दिदिबहिनीहरुका लागि म अझै पनि लड्नेछु ।’ यो आवाज तल्लो तहसम्म पुर्याउन पनि कार्यक्रममा सहभागी महिला नेतृहरुलाई उनले आग्रह गरिन् ।
सामाजिक तथा आर्थिक शसक्तिकरण, उद्यमशिलता विकासमा महिला नेतृत्व र वित्तिय साक्षरतासम्बन्धी कार्यक्रम देशभर गर्ने तयारी स्वरुप बाग्मतिबाट सुरु गरेको पनि सहमहामन्त्री उपाध्यायले जानकारी गराइन् ।































प्रतिक्रिया