नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। रमन नेपालको कार्यकाल सकिएसँगै रिक्त रहेको कोषको कार्यकारी निर्देशकमा मन्त्रिपरिषद् बैठकले उनलाई ४ वर्षका लागि नियुक्त गरेको हो ।
अर्थ मन्त्रालयले गठन गरेको कार्यकारी निर्देशक सिफारिस समितिले छानेकाे ५ जनाकाे सर्ट लिस्टमा पर्वतकुमार कार्कीसहित राष्ट्र बैंकको निर्देशकबाट अवकाश पाएका राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरि श्रेष्ठ पर्न सफल भएका थिए । जसमध्ये कार्कीसहित राजेन्द्र पण्डित र लेखनाथ शर्मा पंगेनीको नाम नियुक्तिका लागि सिफारिस भएका थिए । पंगेनी र पण्डितलाई पछि पार्दै कोषमा कार्की नियुक्त भएका हुन् ।
राष्ट्र बैंकमा ३० वर्ष काम गरेर अवकाश पाएका कार्की २०७३ मा ४ वर्षका लागि नेपाल ग्रामीण विकास वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । उनी हाल किसान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत छन् ।































प्रतिक्रिया