पाकिस्तानमा एकैदिन अहिलेसम्मकै धेरै सङ्क्रमित

पाकिस्तानमा एकैदिन अहिलेसम्मकै धेरै सङ्क्रमित

केन्द्रबिन्दु
0
Shares

इश्लामावाद ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण पाकिस्तानमा पनि अत्यधिक बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमितहरु भेटिएको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा छ हजार ३९७ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको हो । स्वास्थ्य मन्त्रालयले योसँगै पाकिस्तानमा कुल सङ्क्रमितको सङ्ख्या एक लाख २५ हजार ९३३ पुगेको पनि शुक्रबार जानकारी दिएको छ ।

त्यसैगरी कोरोना भाइरसका कारण देशभरी अहिलेसम्म दुई हजार ४६३ जनाको मृत्यु भएको छ । तीमध्ये १०७ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ । पाकिस्तानमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म ४० हजार २४७ जना निको भएको पनि मन्त्रालयको तथ्याङ्क छ ।

पञ्जाब प्रान्तमा सवैभन्दा धेरै सङ्क्रमित रहेको पाइएको छ । पञ्जाबमा अहिलेसम्म ४७ हजार ३८२ जना सङ्क्रमित भएका छन् भने दोस्रो धेरै सङ्क्रमितहरु रहेको सिन्ध प्रान्तमा ४६ हजार ८२८ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी खैबर पाख्तुङख्वामा १५ हजार ७८७ जना, बालुचिस्तानमा सात हजार ६७३ जना, इश्लामावादमा छ हजार ६९९ जना, गिल्गिट बाल्टिस्तानमा एक हजार ३० जना र पाकिस्तान नियन्त्रित काश्मिरमा ५३४ जना सङ्क्रमित रहेको अधिकारीहरुले जनाएका छन् ।

देशभरी कूल आठ लाख नौ हजार १६९ जनाको कोरोना परीक्षण गरिएको र तीमध्ये पछिल्लो २४ घण्टामा २८ हजार ३४४ जनाको परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

Logo