काठमाडौं ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिका प्राथमिकता फेरिने भएका छन् ।
कोरोनाका कारण विश्वका विभिन्न मुलुकसँगै नेपालको अर्थतन्त्रमा पनि प्रभाव पारेपछि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत आर्थिक पुनर्उत्थानलाई केन्द्रमा राख्ने भएको छ । यसपालीको मौद्रिक नीति वैदेशिक रोजगारबाट फर्केका कामदार र साना तथा मझौला उद्योग व्यवसायलाई उत्थान गर्ने किसिमले आउन सक्ने राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, नेपालमा वर्षेनी अर्बाै रुपैँयाँ बराबरको आयात गर्दै आएको छ । जसका कारण हरेक वर्ष ब्यापार घाटा बढ्दै गएको छ । आयातलाई कम गरी व्यापार घाटा न्युनिकरण गर्न कृषि क्षेत्रमा प्रवाह हुने कर्जा बढाउने, त्यसलाई प्रभावकारी बनाउने , रोजगारी बढाउन पर्यटन क्षेत्र लगायतका विषय प्राथमिकताको केन्द्रबिन्दुमा रहने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । ‘आर्थिक पुनर्उत्थान गर्दै गर्दा रोजगारी सृजना गर्ने क्षेत्र तथा कृषि प्राथमिकतामा पर्छन् ।’ प्रवक्ता भट्टले भने ।
रोजगारी सिर्जना गर्ने विषयमा मौद्रिक नीतिले के ल्याउँछ यकिन नभए पनि त्यसैलाई सहयोग पुग्ने गरी मौद्रिक नीति आउने उनले बताए । मौद्रिक नीतिले पुनर्कर्जा कोषलाई पनि थप व्यवस्थित बनाउँनेछ । त्यस्तै, मौद्रिक नीतिले पुनर्कर्जाको सुविधा साना व्यवसायीले पनि लिन पाउने व्यवस्था गर्न सक्ने सम्भावना छ । अहिलेसम्म ठूला व्यवसायीहरुले मात्रै पुनर्कर्जाको सुविधा लिन पाउने व्यवस्था थियो । पर्यटन क्षेत्रले पनि प्रशस्त मात्रामा रोजगारी सिर्जना गर्ने भएकाले यो क्षेत्र पनि मौद्रिक नीतिको प्राथमिकतामा पर्न सक्ने राष्ट्र बैंकको भनाइ छ ।
कृषि कर्जालाई प्रभावकारी बनाइरहँदा सहुलियत दरमा लगानी गर्दा मानौं कुनै बैंकको वेसरेट १० छ, सो बैंकले १२ प्रतिशतमा कर्जा दिइरहेको छ भने उसले ५ प्रतिशतमा किसानलाई दिन्छ र अरु सरकारले बेहोर्ने भएकाले कृषि कर्जा प्रभावकारी रुपमा जाने प्रवक्ता भट्टको अनुमान छ । हालसम्म कृषि क्षेत्रमै जाने कर्जामा ५ प्रतिशत सहुलियतका विषयले प्रभावकारी नभएको भन्दै अब त्यस्तो नहुने उनले बताए । अहिले वाणिज्य बैंकका हरेक शाखाले १० जनालाई अनिवार्य रुपमा सहुलियत कर्जा दिनुपर्ने व्यवस्था बजेटले गरेको छ । यसले पनि सहुलियत कर्जालाई प्रभावकारी बढाउने प्रवक्ता भट्टको ठहर छ ।
कोरोनाका कारण साना र मझौला उद्योगी व्यवसायीहरुलाई निकै समस्या परेको छ । व्यवसायीहरुको मुख्य समस्या भनेको तरलताको कमी नै हो । त्यसैमाथि बैंक तथा वित्तीय संस्थाहरुले साना तथा मझौला उद्योग व्यवसायमा लगानी गर्न पनि त्यति चासो राख्दैनन्, इच्छुक हुँदैनन् । यी व्यवसायीलाई उद्योग संचालन गर्न तरलताको व्यवस्था गर्ने लगायतका व्यवस्था आउने सम्भावना मौद्रिक नीतिमा छ ।
त्यस्तै, कोरोनाका कारण अहिले ठूला व्यवसायीहरु पनि उत्तिकै मारमा परेका छन् ।व्यवसायीहरुले नयाँ ऋण लिन सक्ने अवस्था छैन । यस्तो अवस्थामा व्यवसायीलाई राहत दिने गरी ऋणमा सहुलियत लगायतका व्यवस्थाहरु मौद्रिक नीतिले ल्याउने देखिन्छ । तर राष्ट्र बैंकले अहिले मौद्रिक नीतिका लागि सुझाव संकलन गरिरहेको छ । मौद्रिक नीतिका विषयमा राष्ट्र बैंकमा छलफल पनि सुरु भएको छैन । विभिन्न क्षेत्रबाट सुझाव आएपछि मात्रै राष्ट्र बैंकले ती सुझावमाथि छलफल गरी मौद्रिक नीति तयार गर्छ ।































प्रतिक्रिया