अनलाइन पुम्से च्याम्पियनसिप हुने

अनलाइन पुम्से च्याम्पियनसिप हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को आयोजनामा ‘लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिप’ हुने भएको छ ।

अमेरिकाको पोर्टल्याण्डमा मुख्यालय रहेको आइओएफटिसीले विश्वव्यापी महामारीकारुपमा फैलिरहेको कोरोना भाइरसका कारण विश्वभर खेलकूद गतिविधि ठप्प भएको अवस्थामा दुई चरणमा गरी उक्त अनलाइन प्रतियोगिता गर्न लागेको आइओएफटिसीका संस्थापक एवं प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जानकारी दिए।

कोरोना भाइरसका कारण खेलकूद गतिविधि ठप्प रहेका बेला खेलाडीलाई अवसर दिन तथा केही हदसम्म चलायमान बनाउन प्रतियोगिताको आयोजना गरिएको उनले बताए । यस अन्तर्गत जुन २१ देखि २७ तारिखसम्म पहिलो चरणमा ‘कलर बेल्ट’ प्रतिस्पर्धा हुनेछ । यलो, ग्रिन, ब्लु र रेड बेल्टको प्रतिस्पर्धामा पुरुष तथा महिलातर्फ समान सात÷सातवटा प्रतिस्पर्धा हुनेछ ।

यस्तै जुलाई १२ देखि १८ तारिखसम्म ब्ल्याक बेल्टतर्फ दोस्रो चरणमा खेल खेलाइनेछ । पुरुष तथा महिलातर्फ समान ११÷११ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । “दुवै चरणको प्रतिस्पर्धा सबैका लागि खुला रहेको छ”, निर्देशक महर्जनले भने ।

डेइडो, युएसए, एभरेष्ट तेक्वान्दो सङ्घ तथा युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटिएफ) को सहयोगमा हुन लागेको उक्त प्रतियोगितामा करिब २५ देशका खेलाडीको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ । यसका लागि सहभागी खेलाडीले दुई मिनेटभन्दा बढीको श्रव्यदृश्य पठाउनु पर्ने प्रावधान छ । यसरी पठाइएको श्रव्यदृश्यलाई विश्व तेक्वान्दो महासङ्घबाट मान्यता प्राप्त निर्णायक प्यानलले मूल्याङ्कन गरी खेलको नतिजा सार्वजनिक गरिनेछ ।

नेपाली खेलाडीको सहजीकरणका लागि रामचन्द्र व्यञ्जनकार, रजिन सिंह, अर्जुन महर्जन र निरोज गौतम रहेको टोली गठन गरिएको छ । आइओएफटिसीको मुख्य प्रतियोगिता अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिपको १३ औँ संस्करण कोरोना भाइरसका कारण स्थगित भएपछि आयोजकले अनलाइन प्रतियोगिताको आयोजना गर्न लागेको निर्देशक महर्जनले बताए । उक्त च्याम्पियनसिपको १३ औँ संस्करण अमेरिकाको मिचिगनमा यसै वर्ष मेमा आयोजना गर्ने तालिका थियो ।रासस

Skip This
Skip This
Logo