भारतमा दैनिक दुई लाख कोभिड-१९ नमूना परीक्षण गर्ने क्षमता, कति पुगे संक्रमित ?

भारतमा दैनिक दुई लाख कोभिड-१९ नमूना परीक्षण गर्ने क्षमता, कति पुगे संक्रमित ?

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली ।

भारतले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को परीक्षण सेवा हाल दैनिक दुई लाख व्यक्तिलाई दिन सक्ने क्षमता रहेको भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले बिहीबार जानकारी गराएको छ । आईसीएमआरका महानिर्देशक प्राध्यापक बलराम भार्गवले भारतमा अझै समुदायमा सङ्क्रमणको महामारी नरहेको पत्रकार सम्मेलनमा दावी गरे ।

उनले भने, “भारतीय समुदायमा कोभिड–१९ को सङ्क्रमण महामारीको अवस्थामा रहेको छैन । भारतमा हाल दैनिक करिब डेढ लाख सङ्क्रमितको परीक्षण हुने गरेको र यसलाई अहिलेको संरचनामा दैनिक दुई लाख विरामीलाई परीक्षण सेवा दिन सकिन्छ । आवश्यकता अनुसार यसलाई बढाउन सकिनेछ ।”

भारतको ग्रामिण क्षेत्रको तुलनामा शहर करिब एक प्रतिशत मात्र रहेको र सङ्क्रमण शहरी क्षेत्रमा जस्तो अवस्थामा गाउँमा नरहेको उनको दावी रहेको छ ।

भारत यति ठूलो मुलुक हो, जहाँ कोरोना भाइरसको सङ्क्रमण निकै कम (एक प्रतिशतभन्दा कम) जनसङ्ख्या मा रहेको छ । यद्यपि राज्यले परीक्षण, सम्भावित विरामीको खोजीका साथै सङ्क्रमणलाई समुदायमा फैलिन नदिन क्वारेन्टाइन र लक्षणका आधारमा विरामीलाई परिवार र समुदायका सदस्यबाट अलग पारी नियन्त्रण प्रयासलाई निरन्तरता दिनुपर्छ ।

भारतमा केही दिन पहिलेसम्ममा नै ५० लाखभन्दा बढी व्यक्तिको सङ्क्रमण परीक्षण भइसकेको महानिर्देशक भार्गवले बताए ।

कति पुगे संक्रमित ?

भारतमा कोरोना भाइरसका कारण एकैदिनमा करिब दश हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९९६ जना संक्रमित भएको पुष्टि भएको हो ।

योसँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ८६ हजार ५७९ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ३५७ जनाको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार १०२ पुगेको छ ।

भारतमा अहिले पनि १ लाख ३७ हजार ४४८ जना संक्रमित अवस्थामै रहेका छन् भने सङ्क्रमण मुक्त भएकाहरुको संख्या १ लाख ४१ हजार २९ रहेको मन्त्रालयले जनाएको छ । कोराना भाइरसको संक्रमण भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिदै आएको छ । महाराष्ट्रमा मात्रै बिहीबारसम्म ९४ हजार ४१ जना संक्रमित भएका छन् ।

दोस्रो स्थानमा तमिलनाडु प्रदेश रहेको छ । यहाँ ३६ हजार ८४१ जना सङ्क्रमित रहेका छन् । यसैगरी दिल्ली राज्यमा ३२ हजार ८१० जना संक्रमित रहेका छन् ।रासस/एएनआई

Skip This
Skip This
Logo