काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये अब उद्योग व्यवसायीले लकडाउन सकिएको ३० दिनभित्र कर तिरे हुने भएको छ । बुधबार सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेसँगै उद्योगी व्यवसायीहरुले लकडाउन सकिएको ३० दिनभित्र कर तिरे हुने भएको हो ।
त्यस्तै कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरिएको छ । लकडाउनकै समय कोरोना भाइरसको संक्रमण बढेको, सरकारले खर्च गरेको रकममा पारदर्शीता नदेखिएको र कर तिर्न ताकेता गरिएकोप्रति असन्तुष्टि जनाउँदै युवाहरूले स्वतस्फूर्त रुपमा प्रदर्शन गरेका हुन् ।
तत्कालीन समाजवादी पार्टीकी समानुपातिक सांसद सरीता गिरी पछिल्लो समय विवादमा तानिएकी छिन् । बुधबार संघीय संसदको सचिवालयमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएसँगै उनी विवादमा तानिएकी हुन् ।
त्यस्तैगरी अटो मोबाइल्स एसोशियसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले सरकारले विद्युतीय सवारी साधनमा लगाएको कर नीति गलत भएको भन्दै फिर्ता लिन माग गरेका छन् । केन्द्रविन्दु डटकमले आयोजना गरेको विद्युतीय सवारी साधनमा सरकारको कर नीति विषयक राउन्ड टेबलमा बोल्दै अध्यक्ष दुलालले यस्तो माग गरेका हुन् ।
कोरोना भाइरसका कारण स्थगित स्पेनिस ला लिगा फुटबल बिहिबारबाट सुरु हुँदैछ । कोरोनाको कारण गत मार्चबाट स्थगित लिग तीन महिनापछि सुरु हुन लागेको हो । लिग अन्तर्गत बिहिबार राति सेभिया र रियल बेटिसबीच प्रतिस्पर्धा हुँदैछ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया