काठमाडौं ।
कोरोना भाइरसको संक्रमणले यतिबेला विश्वलाई आतंकित बनाएको छ । यसरी कोरोना संक्रमणले विश्व समुदायलाई नै आतंकित बनाउँदा मानिसको दैनिक जनजीवन समेत कष्टकर बन्दै गएको छ । यसको शिकारबाट नेपाल र नेपाली पनि अछुतो छैनन् ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन पटकपटक थप गरि जेठ ३२ गते सम्म कायम रहेको छ। लकडाउनले गर्दा यो ३ महिनाको बीचमा आर्थिक गतिविधिका काम ठप्प छन् । अत्यावश्यकता अनुसारका पसल सञ्चालनमा आएका भए पनि अधिकांश व्यापार व्यवसाय ठप्प नै रहेका छन् । यसले गर्दा बजारमा आवश्यक सामाग्री आपूर्ति व्यवस्थामा समस्या रहेकाले असहज भएको छ। यसरी आपूर्तिमा असहज भएको भन्दै बजारमा खाद्यान्नदेखि माछामासुको मूल्य हप्तै पिच्ने बृद्वि भइरहेको छ । यसै बीच नेपाल पोल्ट्री संघले १० दिनमा कुखुराको मासुको मूल्य दुई पटक बृद्वि गरेको छ।
लकडाउनपछि कुखुरा पालक किसानले कुखुरा बजारसम्म पुर्याउन नपाउँदा तथा बिक्रि नहुँदा खाल्डो खनेर जिउँदो कुखुरा पुर्नु परेको थियो । कुखुराको लागि दानाको अभाव तथा आपूर्तिमा समस्या भएकोले कुखुरा पालक किसान निरास भई नयाँ कुखुरा नहालेकाले तथा अहिले बजारमा मासुको माग बढ्दै गएको र आपूर्तिमा समस्या भएकाले मासुको मूल्य बढाएको संघले जनाएको छ ।
१५ दिन अगाडिसम्म ३०५ रुपैंयाँ प्रतिकेजी रहेकोमा १० दिन देखि संघले ५ दिनमै प्रतिकेजी १५ रूपैयाँले बढाउँदै लगेको थियो । यसरी बृद्वि गर्दै पोल्ट्री संघले १० दिन भित्रमा कुखुराको तयारी मासुमा पुनः मूल्य बढाएर ३६० रुपैयाँ पुर्याएको छ । अब बजारमा उपभोक्तालाई प्रतिकेजी ३ सय ६० रुपैयाँ तोकेको र अब कुखुराको तयारी मासु यस भन्दा माथि नजाने पोल्ट्री संघका अध्यक्ष जगंबहादुर बिसीले बताए ।
पछिल्लो समय जिउँदो कुखुरा र मासुमा मूल्य बढ्न थालेपछि कुखुरा पालक किसानले फर्ममा चल्ला हाल्न थालेको र अब उत्पादन गरेर बजारमा ल्याउन ४५ दिन लाग्ने भएकाले मासुको भाउ अब नबढ्ने बिसीले बताए ।
बजारमा अहिले पछिल्लो समय मासुको बढेको मागका तुलनामा उत्पादन कम हुँदा मूल्यवृद्धि हुन थालेको हो । तराइका जिल्लामा कुखुरा उत्पादन रोकिएको छ । जसका कारण उपत्यका नजिकका जिल्लामा उत्पादन भएका कुखुरा चितवन र तराइका जिल्लामा जाने गरेको छ । हाल तराइका बजारमा कुखुराको मूल्य किलोमा ४ सय रुपैंयाँ पुगिसकेको छ।
लकडाउन भन्दा अगाडि कुखुरा व्यवसायी संघले उचित भाउ नपाएको विरोधमा चल्ला र अण्डा नष्ट गरेका थिए । त्यसयता कुखुराको उत्पादन बढ्न नसकेको पोल्ट्री संघले जनाएको छ। लकडाउनमा बिक्री नहुने अनुमान गर्दै थोरै कुखुरा पाल्ने किसानले समेत खोरमा चल्ला कम गर्न थालेका थिए ।
यता लकडाउनपछि खसीको मासुको मूल्य अत्याधिक बढेको थियो । तर केही दिन देखि खसी आयात बढेपछि तयारी मासुको मूल्य घटेको छ । अहिले बजारमा उपभोक्ताले खसीको मासु १३ सय ४० रुपैंयाँमा खरिद गरिरहेका छन् । लकडाउनपछि खसीको मासु २ हजारसम्ममा पनि विक्रि वितरण गरिको थियो । पछि सरकारले अनुगमन गरि कारबाही गरेपछि १४ सय ५० सम्म पुगेको थियो ।





























प्रतिक्रिया