रेड, एल्लो र ग्रिन जोन पहिचान गरी सार्वजनिक यातायात संचालन गर्ने सरकारको तयारी

रेड, एल्लो र ग्रिन जोन पहिचान गरी सार्वजनिक यातायात संचालन गर्ने सरकारको तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोनाका भाइरसका कारण लामो समय थन्किएका सार्वजनिक सवारी साधनहरु संचालन गर्न सरकारले तयारी थालेको छ । कोरोना भाइरसको महामारीका कारण सुरक्षा अपनाउँदै सार्वजनिक यातायात संचालन गर्न सरकारले तयारी थालेको हो । सरकारले लकडाउनको ८० औँ दिन विहिबारदेखि लकडाउन खुकुलो गर्दै विभिन्न २१ प्रकारका उद्योग तथा नीजि सवारी साधन खुल्ला गरेको छ । अब सार्वजनिक यातायात कसरी संचालन गर्ने भन्दै सरकार त्यसको तयारीमा जुटेको हो । सरकारले सबैभन्दा कम प्रभावित क्षेत्रबाट सार्वजनिक यातायात संचालन सुरु गर्नेछ ।

स्वास्थ्य मन्त्रालयले सबैभन्दा बढी जोखिम (रेड जोन), मध्यम जोखिम (एल्लो जोन) र जोखिम नै नभएको (ग्रीन जोन) पहिचान गर्नेछ । त्यसकै आधारमा सार्वजनिक यातायात संचालन गर्ने सरकारको तयारी छ । ‘रेड, एल्लो र ग्रीन जोन छुट्टयाएर संचालन गर्ने विषयमा छलफल गरिरहेका छौँ ।’ यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने । स्वास्थ्य मन्त्रालयले रेड, एल्लो र ग्रीन जोन पहिचान गरेर सार्वजनिक यातायात संचालन गर्दा हुन्छ भनेपछि मात्रै सार्वजनिक यातायात संचालन गर्ने महानिर्देशक हमालको भनाइ छ ।

कोरोना महामारीका कारण सरकारले गत चैत्र ११ गतेदेखि मुलुकैभरी लकडाउन गरेको छ । झण्डै तीन महिनादेखि थन्किएका सार्वजनिक यातायात संचालन गर्न सरकार तातेको हो । सरकारले कोरोना संक्रमणको जोखिमको अवस्था हेरेर लकडाउन खुकुलो बनाएपछि सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनेर सम्बन्धीत सरोकारवालाहरुसँग छलफल गरेको हो । ‘अहिले हामीले ट्राफिक, यातायात व्यवसायी तथा अन्य सरोकारवालाहरुसँग छलफल गरिरहेका छौँ ।’ महानिर्देशक हमालले भने । विभागले कार्यविधी नै बनाएर सार्वजनिक यातायात संचालन गर्न छलफल थालेको उनले बताए । सो कार्यविधी अनुसार यात्रुहरुलाई सुरक्षित यात्रा गराउन यात्रुहरुवीच कसरी सामाजिक दुरी कायम राख्ने ? अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने, भाडा दिँदा कसरी दिने, थोरै यात्रु राख्ने लगायतका कुराको पालना गर्नुपर्नेछ । तर सो कार्यविधी पास भने भइसकेको छैन । सो कार्यविधी पास भइसकेपछि प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।

सरकारले विभिन्न उद्योग व्यवसाय, बैंक, बीमा लगायतका क्षेत्र खुल्ला गर्दा सार्वजनिक यातायात खुला नगर्दा समस्या निम्तीने भन्दै यस विषयमा छलफल थालेको हो । सार्वजनिक यातायात कहिलेदेखि खुल्छ भन्ने टुंगो भने लागेको छैन । तर सरकारले खोल्ने निर्णय गरेपछि कसरी व्यवस्थापन गर्ने भन्ने तयारी विभागले गरेको हो । सरकारले सार्वजनिक सवारी साधन कति चरणमा र ठूला तथा साना सवारी साधन कति संख्यामा संचालन गर्ने भन्ने विषयमा छलफल गरिरहेको छ ।

लामो समयसम्म सवारी साधन थन्किएकाले ८० प्रतिशत सवारी मर्मत गर्नूपर्ने अवस्था आएको छ भने लकडाउन खुलेर सरकारले सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरे पनि तत्काल संचालन गर्न भने समस्या पर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । सार्वजनिक यातायात संचालन गर्दा चालक, सहचालक तथा यात्रुहरुको स्वास्थ्यमा विशेष ध्यान पु¥याइनु पर्ने महासचिव सिटौलाको भनाई छ ।

सार्वजनिक यातायात क्षेत्रमा झण्डै १० खर्ब भन्दा बढीको लगानी रहेको छ । जसमा ८ खर्व रुपैँयाँ बैंकहरुको लगानी छ । लामो तथा छोटो दूरीका गरी ३ लाखभन्दा बढी साना, ठूला सार्वजनिक यातायातका सवारी हाल ग्यारेजमा थक्किएर बसेका छन् । प्रत्यक्ष रुपमा ६० लाख भन्दा बढी मजदुरहरु यस क्षेत्रमा कार्यरत छन् । झण्डै ३ महिना लकडाउन हुँदा अहिले मुलुकैभरी ३ लाखभन्दा बढी सार्वजनिक यातायातका साधनहरु थन्किएका छन् ।

Skip This
Skip This
Logo