काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका विषयमा राजनीतिक दलहरूबीच असाधारण राष्ट्रिय एकता देखा परेको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सम्बोधन गर्दै उनले संविधान संशोधन विधेयक सर्वसम्मतिले अगाडि बढाएर नेपाली राजनीतिक दलहरुले असाधारण एकता देखाएको बताएका हुन् । मंगलबारको प्रतिनिधि सभामा देखिएको एक्यबद्धताले राजनीतिक दलहरू जनताको चाहाना अनुसार काम गर्छन भन्ने पुष्टि भएको उनको भनाइ छ । उनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा भएको खर्चमा अनियमितता देखिए जो सुकैलाई कारबाही गर्ने बताएका छन् । तर, अहिले खर्चमा भन्दा पनि कोरोनाको महामारीसँग कसरी लड्ने भन्ने विषयमा ध्यान दिनुपर्ने उनले बताए । कोरोना नियन्त्रणमा अनियमितता गरेको पुष्टि भए कानुनी कठघरामा उभ्याइने उनको भनाइ छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमण पुष्टि भएकामध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका नागरिक भएको बताएका छन् । साथै, उनले लकडाउनको मोडालिटीबारे बुधबार मन्त्रिपरिषद्को बैठक बसेर तय गर्ने बताए । उनले भारतसँगको सीमा विवाद समाधानको विकल्प नेपाली भूमि फिर्ता ल्याउनु भएको बताएका छन् । भारतसँगको सीमा विवाद प्रमुख रूपमा कालापानी, लिपुलेक र लिम्पियाधुरामा रहेको भन्दै उनले सो भूमि फिर्ता ल्याएरै छोड्ने बताए । कालापानीमा भारतीय फौजले कब्जा गरी लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको बताए ।
त्यस्तैगरी प्रधानमन्त्री ओलीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्ति निन्दनीय भएको बताएका छन् । नेपाल एक सार्वभौम मुलुक भएकाले नेपाललाई नहेप्न पनि योगी आदित्यनाथलाई प्रधानमन्त्री ओलीको आग्रह छ ।





























प्रतिक्रिया