काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि भएको खर्चमा नभई कोभिड– १९ बारे चिन्ता लिन सांसदसँग आग्रह गरेका छन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयक, ०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोगको सचिवालय एवं राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको शीर्षकमाथि उठेका प्रश्नको जवाफका क्रममा उनले भने, कहीं कतै दुरुपयोग भएकै हुन सक्दैन भनेर म दावी गर्दिन, भएकै छ भनेर सोच्नुपर्ने स्थिति पनि देख्दिन, अहिले कोरोना रोकथाम र उपचारका लागि भएको खर्चको हिसाबको चिन्ता नगरौँ, कोभिड– १९ को चिन्ता गरौँ ।
राष्ट्रिय संकटका बेला, सिङ्गो दुनियाँमा यस्तो विपद् आइलागेका बेला यदि कसैले भ्रष्टाचार गर्छ भने कुनै हालतमा सह्य हुन नसक्ने बताउँदै उनले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने दृढता व्यक्त गरे ।
हिसाब लेखापरीक्षक र आन्तरिक लेखा परीक्षण
कोरोना नियन्त्रण र रोकथामका लागि भएको खर्चको हिसाब महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र आन्तरिक लेखा परीक्षकबाट हुने व्यवस्था रहेको जानकारी दिँदै उनले अहिले भएको खर्चमा पारदर्शिता कायम गरिने भएकाले चिन्ता नगर्न सांसदलाई सुझाव दिए ।
नेपालमा हालसम्म पहिचान भएका मध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्तिमा कोभिड –१९ संक्रमण भेटिएको बताउँदै प्रधानमन्त्री ओलीले ठूलो संख्यामा परीक्षण गर्नुपरेका कारण केही अव्यवस्था देखिए पनि व्यवस्थापनमा सुधार ल्याउने प्रयास भइरहेको जानकारी दिए । कोभिड –१९ संक्रमण लगत्तै भारतबाट हालसम्म दुई लाख २२ हजार ६१४ जना नेपाली स्वदेश आएकामा हाल दैनिक पाँच हजार हाराहारीमा आएका छन् ।
एकलाख ६५ हजार ७७५ जना क्वारेन्टाइनमा छन् । ठूलो संख्यामा एकैपटक क्वारेन्टाइनमा राख्नु परेको र पिसिआर टेष्ट गर्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले हालसम्म चार हजार ८५ जनामा कोरोना संक्रमण भेटिएको र संक्रमितमध्ये ५८४ जना उपचारपछि निको भएर घर फर्केको जानकारी दिए।
नेपालीमा प्रतिरोध क्षमता राम्रो
मृत्यु भएका १५ जना कोरोनाकै मात्रै कारणबाट नभई कतिपय अरु रोगबाट सिकिस्त हुँदा कोरोना संक्रमण भएको बताउँदै उनले मृत्यु हुनेको संख्याको तुलनामा निको भएर फर्कनेको संख्या निकै राम्रो भएको उल्लेख गरे । नेपालीमा प्रतिरोध क्षमता र उपचारको प्रबन्ध निकै राम्रो भएकाले संक्रमित र अरु देशको तुलनामा मृत्यु हुनेको संख्या आगामी दिनमा ठूलो नहुने जिकिर उनको थियो । विदेशमा १४ हजार ४१४ गैरआवासीय नेपालीमा कोरोना संक्रमण रहेको तथा १३ मुलुकमा १२७ नेपालीको निधन भएको, अहिले दैनिक पाँच हजारको संख्यामा कोरोना परीक्षण भइरहेको र नयाँ प्रविधिको प्रयोग गर्ने विषयमा सरकारले तदारुकताका साथ काम गरिरहेको जानकारी प्रधानमन्त्रीले दिए ।
उनका अनुसार अहिलेसम्म पिसिआर प्रविधिबाट एक लाख ६ हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । अहिले क्वारेन्टाइनको क्षमता दुई लाख ३५ हजार ५९६ तयार गरिएको छ । सरकारी र निजी क्षेत्रका गरी अहिले मुलुकमा आठ हजार ३३ सामान्य शैया र नौ सय भेन्टिलेटर छन् । एक सय चौरान्नब्बे अस्पतालमा एक हजार सात सय आइसियुको व्यवस्था छ ।
योजना आयोगको प्रभावकारिता बढ्दो
प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगले सरकारले दिएको समृद्ध नेपाल र सुखी नेपालीको कार्यक्रमलाई समय कार्यतालिका बनाएर पूरा गर्न योजनाबद्ध ढंगले अघि बढिरहेको जानकारी दिए । उनले भने, “आयोगले पञ्चवर्षीय योजना बनाएको छ, अनुगमन, मूल्याङ्कन, योजना बैँकमार्फत योजना बनाउने काम गरिरहेको छ । अत्यन्तै व्यवस्थित ढंगले योजना र कामलाई अघि बढाएको छ ।”
आगामी आर्थिक वर्षको बजेटमा रकमको विनियोजन उपयुक्त ढंगले भएको पनि उनले बताए । राष्ट्रिय समस्यामा सरकारको गम्भीरताका साथ ध्यान गएको बताउँदै उनले भ्रष्टाचार नियन्त्रण गर्न र शान्ति सुव्यवस्था कायम गर्न सरकार तत्पर रहेको बताए । भ्रष्टाचारमा संलग्नलाई कारवाहीको दायरामा ल्याइएको पनि उनले बताए ।





























प्रतिक्रिया