काठमाडौं ।
कोरोना भाइरसका कारण झण्डै ३ महिनादेखि शेयर बजार पूर्णरुपमा बन्द अवस्थामा छ ।
लामो समयदेखि बजार नखुल्दा लगानीकर्ताको अर्बाैं रुपैँयाँ डुब्ने हो कि भन्ने प्रश्नहरु उठ्न थालेका छन् । शेयर बजार खुलाउने विषयमा नियामक निकायले पनि त्यति चासो नदिएका कारण प्रायः अधिकांश क्षेत्र खुल्दा पनि शेयर बजार खुल्न सकेको छैन । विश्वभर कोरोनाको महामारी फैलिरहे पनि अन्य मुलुकहरुमा भने शेयर कारोबार राम्रै भयो । तर नेपालमा कारोबार हुन सकेन ।
विश्वका अधिकांश मुलुकहरुमा स्टक एक्सचेन्ज खुला रहँदा नेपालमा बन्द नै रह्यो । जसका कारण शेयर बजारको लगानी बन्द भएको छ । शेयर बजारका अधिकांश लगानीकर्ताले शेयर बजार खुला गरेर कारोबार गर्न माग गरिरहँदा पनि नियामक निकायहरुले वास्ता नगर्दा शेयर बजारमा भएको लगानी बन्दक भएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउद आफूले सुरुदेखि नै पूँजीबजार खुला गर्नुपर्ने पक्षमा रहेको बताएका छन् । शेयर बजार बन्द गर्न उनलाई विभिन्न दबावहरु आउने गरेको थियो ।
डा. युवराज खतिवडा अर्थमन्त्री भएर आएदेखि नै शेयर बजारप्रति कडा रुपमा प्रस्तुत भए । अर्थमन्त्री बन्ने वित्तिकै उनले शेयर बजारलाई अनुत्पादक भन्दै संचार माध्यममा अन्तर्वार्ता दिएका थिए । त्यसबेला देखि अर्थमन्त्री खतिवडालाई शेयर बजारका लगानीकर्ताले पटक्कै मन पराउँदैनन् । त्यतिमात्रै होइन, आगामी वर्षको बजेटमा पनि शेयर बजारका विषय चित्त बुझ्दो हिसाबले समावेश नभएको भन्दै अर्थमन्त्रीको राजीनामा समेत माग गरिएको थियो । डा.बाबुराम भट्राई अर्थमन्त्री बन्दा पनि शेयर बजारलाई जुवाको घर भनेका थिए । पछिल्लो समय कम्युनिष्ट सरकारका अर्थमन्त्रीहरुले शेयर बजारलाई सधैँ बक्र दृष्टिले हेरि रहे । जसका कारण शेयर बजारले सही गति लिन सकेन । अहिले डा.बाबुराम भट्टराईले भने जस्तै शेयर बजार जुवाघर जस्तै भएको लगानीकर्ताहरुको गुनासो गर्न थालेका छन् ।
नेप्से तथा नेपाल धितोपत्र बोर्डले बजार बन्द भएपनि अनलाइनमार्फत शेयरको कारोबार गर्न सकिने बताएका थिए । तर अहिले अनलाइन कारोबारलाई पूर्णरुपमा संचालन गर्नुको सट्टा लकडाउनलाई कारण देखाउँदै बन्द मात्रै गरिरहेका छन् । धितोपत्र बोर्डले पूँजी बजार तत्काल खोल्न नसकिने बताएको छ । अन्र्तराष्ट्रिय बजारसँग नेपाली बजार तुलना गर्न नसकिने भन्दै तत्काल शेयर बजार खोल्न नसकिने बोर्डको भनाइ छ ।
बोर्डले जनजीवन सहज नभएसम्म शेयर बजार खोल्दा समस्या हुने जनाएको छ । ‘सरकारको लकडाउन जेठ ३२ सम्म हो, त्यो बेलासम्म बजार खुल्दैन ।’ बोर्डका प्रवक्ता निरज गिरीले भने । अहिले सेयर बजारमा लगानीकर्ताको हितका लागि पूँजी बजार सम्बन्धी विभिन्न ५ वटा संगठनहरु खुलेका छन् । यी संगठनहरुले बेला बेलामा आन्दोलन पनि चर्काउने गरेका छन् । नियामक निकायहरुले पनि यी संगठनहरुका मागलाई सम्बोधन गर्दै आएको देखिन्छ । बजार खुलाउने कि बन्द गर्ने भन्ने उनीहरुको हातमा छ । यी संगठनहरुले समग्र लगानीकर्तालाई समेट्न नसकेको लगानीकर्ताकै गुनासो छ ।































प्रतिक्रिया