काठमाडौं ।
लकडाउनको अवधिको बीचमा पनि काठमाडौँ महानगरपालिकाले विकास निर्माण तथा पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिएको छ । महानगरका शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले लकडाउनको समयमा पनि आकाशे पुल निर्माणसँगै अन्य भौतिक पूर्वाधारका काम अघि बढिरहेको बताएका छन् ।
‘केही दिन अघि मात्रै वडा नं.–८ को जयबागेश्वरीमा सार्न मिल्ने आकाशे पुलको शिलान्यास भएको छ,’ थापाले भने, ‘माइतीघर नजिकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छेउको निर्माणाधिन आकाशे पुल करीब–करीब निर्माण सम्पन्न हुने क्रममा छ । लकडाउनमा समेत कामलाई निरन्तरता दिएर सकेसम्म असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने तयारी छौ ।’
उनले जयबागेश्वरीमा केही दिन अघि मात्रै शिलान्यास गरेको पूल निर्माणको कामलाई पनि निरन्तरता दिने बताए । ‘जयबागेश्वरीको पूल दशैँ भित्र सम्पन्न गर्ने र चावहिलको पूल निर्माणको कामलाई निरन्तरता दिने उनको भनाइ छ । जयबागेश्वरीको सार्न मिल्ने आकाशे पूलको शिलान्यास संघीय सांसद् गगनकुमार थापाले गरेको थिए । महानगरका काममा संघीय र प्रदेश सांसदहरुले समेत सहभागिता जनाउँदा विकास निर्माणका कामलाई दू्रततर गतिमा अघि बढाउन थप सहज हुने महानगरले जनाएको छ ।
‘आर्थिक वर्ष २०७६÷०७७ मा महानगर क्षेत्र भित्रका विभिन्न ६ स्थानमा सार्न मिल्ने आकाशे पूल निर्माण गर्ने योजना बनाएका थियौँ,’ थापाले भने,‘सोही अनुरुप अहिले चावहिल, जयबागेश्वरी र माइतीघर नजिक यस्ता पूल निर्माणको काम अघि बढाएका छौँ ।’
उनले एक करोडको हाराहारीमा निर्माण हुँदै गरेको माइतीघर नजिकको पूल सकेसम्म असार मसान्तभित्र सम्पन्न गर्ने गरी काम अघि बढाएको बताए । ८२ लाख ६६ हजारमा निर्माण हुँदै गरेको चावहिलको पूल निर्माणको काम पनि अघि बढेको उनले जानकारी दिए । ‘जयबागेश्वरीको पूल बन्दाबन्दीकै बेलामा समेत काम गरेर आउँदो ४ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ,’ उनले भने, ‘आगामी दिनमा पैदल यात्रुको सुरक्षा र सहरी सवारी आवागमनलाई सहज बनाउन महानगरले यात्रुको धेरै चाप हुने ठाउँहरुमा पैदल यात्रुका लागि क्रमशः आकाशे पुल निर्माण गर्दै जाने नीति लिएको छ ।’ जयबागेश्वरीको पूल भ्याटबाहेक ६४ लाख ९९ हजारको लागतमा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाएको हो ।
यहि आर्थिक वर्षमा कम्तीमा ६ स्थानमा अकाशेपूल निर्माण गर्ने योजना भए पनि विभिन्न कारणले तीन वटा मात्रै अघि बढेको बताए । ‘हामीले यही आर्थिक वर्षमा चावहिल, जयबागेश्वरी, सिंहदरबार अघि, नयाँ बानेश्रर, कोटेश्वर लगायतका स्थानमा यस्ता पूल निर्माण गर्ने योजना बनाएका थियौँ,’ उनले भने, ‘तर, नयाँ बानेश्वर र कोटेश्वरमा सडक विभागले निर्माण गर्ने भनेकाले अन्य ठाउँको पहिचान गरिरहेका छौँ । कम्तीमा १० स्थानमा यस्ता पुल निर्माण गर्ने महानगरपालिकाको योजना छ ।’
उनले विभिन्न वडाका काम पनि लकडाउनका बेलामा समेत सामाजिक दूरी कायम गर्दै र सुरक्षाका उपायहरु अपनाएर अघि बढाएको बताए । ‘७, १०, ११, १२, १३, १४, १६ लगायतका वडामा कालोपत्रे गर्ने बाहेक व्लक छाप्ने, ढलान गर्ने, ढल निर्माण गर्ने, वडा कार्यालय भवन निर्माण गर्ने जस्ता भौतिक पूर्वाधारका कामलाई निरन्तरता दिएको छ । अहिले ‘कालोपत्रे गर्ने श्रमिकहरु बढी मात्रामा तराइतिरका हुने भएकाले उनीहरु आउन नपाएका कारण कालोपत्रे गर्ने काम भने अघि बढाउन नसकेको बताए ।
करीब २ सय करोडका आयोजनाहरु चालु अवस्थामा रहेको उनले जानकारी दिए । ‘गत वर्षका आयोजना सम्पन्न गर्ने र चालु आर्थिक वर्षका कामलाई पनि निरन्तरता दिने योजना छ ।’ महानगरपालिका क्षेत्र भित्रका सामूदायिक विद्यालयमा एकै प्रकारको रंगरोगन गर्ने लगायतका कामलाई पनि बन्दाबन्दीका बेला समेत निरन्तरता दिएको छ ।
महानगरपालिकाले सामुदायिक विद्यालय भित्रका खुला स्थानहरुलाई धुलोमुक्त बनाउने, फलफूलका विरुवा रोप्ने, लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय निर्माण गर्ने, शुद्ध पिउने पानीको व्यवस्था गर्ने, खुला क्षेत्रमा पानी पुनर्भरण (रिचार्ज) कार्यक्रम, फोहोरमैला राख्ने भाँडोको प्रवन्ध गर्ने, सबै विद्यालयमा बालमैत्री चित्र र महावाणी लेख्ने एवं एउटै रंग लगाउने कार्यक्रम सञ्चालन गर्ने जस्ता नीति लिएको छ ।





























प्रतिक्रिया