काठमाडौं ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण लामो समयदेखि मुलुकमा लकडाउन यथावत भएको भन्दै खुकुलो बनाउन नेपाल चेम्बर्स अफ कर्मशले सुझाव दिएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण सरकारले गत चैत ११ गतेदेखि मुलुकैभरी लकडाउन गरेको छ । सो लकडाउन जेठ मसान्तसम्म कायम भएको छ । यसरी लामो समयसम्म लकडाउन गर्ने तर उद्योग व्यवसाय नचल्ने तथा बजार नखुल्ने गर्दा आम मानिस रोगले भन्दा भोकले मर्ने अवस्था आउने भन्दै चेम्बर्सले लकडाउनलाई खुकुलो बनाउँदै अर्थतन्त्र चलायमान बनाउन सरकारलाई सुझाव दिएको छ ।
चेम्बरले सार्वजनिक ठाउँमा भेला हुन प्रतिबन्ध लगाएर व्यावसायिक स्थलमा फेस मास्क अनिवार्य गर्ने, काम गर्दा सामाजिक दुरी अनिवार्य रुपमा कायम गर्ने जस्ता राष्ट्रिय गाइडलाइन बन्नु पर्नेमा जोड दिएको छ । संक्रमणको अवस्था तथा जोखिमलाई ख्याल गरेर सरकारले विभिन्न क्षेत्र निर्धारण गरी सोही अनुसार गतिविधि खोल्नुपर्ने चेम्बरको सुझाव छ । त्यस्तै, चेम्बर्सले रातो, पहेंलो तथा हरियो क्षेत्र निर्धारण गरी गतिविध खुकुलो बनाउन माग गरेको छ ।
भारतसँग सीमा जोडिएका तराईका अधिकांश जिल्ला तथा संक्रमण धेरै देखिएका जिल्लालाई रेड जोनमा राखेर लकडाउनलाई निरन्तरता दिनु पर्ने, अलिअलि आयातित संक्रमण देखिएका जिल्लालाई यल्लो जोनमा र अहिलेसम्म संक्रमण नदेखिएका जिल्लालाई ग्रिन जोनमा राखेर आर्थिक गतिविधी अघि बढाउन चेम्बरले सुझाएको छ । लकडाउन कायमै रहे पनि सरकारले यसलाई कसरी खुकुलो बनाउने र अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्ने विषयमा व्यवसायीहरुसँग राय सल्लाह मागेको थियो ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि काम गर्नका लागि गठन भएको उच्चस्तरीय समितिले व्यवसायीहरुका छाता संगठनलाई बोलाएर सल्लाह र सुझाव लिएको थियो । समितिसँगको छलफलमा पनि चेम्बर्सले लकडाउन कायमै रहे पनि सुरक्षाका उपाय अपनाउँदै आर्थिक गतिविधीलाई चलायमान बनाउन सकिने सुझाव दिएको थियो ।
त्यसका साथै लकडाउन लामो समय भएको र मोडालिटीमा कुनै परिवर्तन नआएको भन्दै व्यवसायीहरुले लकडाउन उल्लंघन समेत गर्न थालेका छन् । व्यवसायीहरुले लगातार पहल गरेपछि सरकारले खाद्यान्न लगायत विभिन्न ४४ प्रकारका उद्योग व्यवसायहरु खोल्ने निर्णय गरेको थियो । तर उद्योग संचालनको उचित व्यवस्था नगर्दा उद्योग व्यवसाय संचालन हुन सकेका थिएनन् । फेरी पनि व्यवसायीहरुको लगातारको दबावका कारण सरकारले उपत्यका बाहिर भएका कामदार ल्याउन अनुमति दिएको थियो । उद्योग व्यवसाय र बजार दुवै संचालन हुन सके मात्रै अर्थतन्त्र चलायमान बनाउन सकिने चेम्बर्सको धारणा छ ।































प्रतिक्रिया