काठमाडौं ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले थन्किएका गाडीको चाबी सरकारलाई बुझाउने चेतावनी दिएको छ । सरकारले बिगत ७१ दिनदेखि लकडाउनको मारमा परेको यातायात क्षेत्रको समस्या समाधान नगरे सम्पूर्ण सार्वजनिक यातायात अन्तर्गत संचालित गाडीको चाबी सरकारलाई बुझाउने चेतावनी दिएको हो ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष होम प्रसाद अधिकारीले कोरोना संक्रमणका कारण यातायात क्षेत्र तहस नहस अबस्थामा पुगेको र सरकारले ल्याएको बजेटमा यातायात क्षेत्रलाई कुनै प्राथमिकता नदिएको भन्दै आपत्ति जनाएका छन् ।
उनले अब लकडाउन खुलिहाले पनि पहिले जसरी सार्वजनिक यातायात चल्न सक्ने अबस्थामा नभएको र सरकार यातायात व्यवसायप्रति गम्भीर नहुनु दुखद भएको बताए । त्यसैगरि वरिष्ठ उपाध्यक्ष किरण रिजालले यतिबेला विश्व नै कोरोनाबाट आक्रान्त भएको भएपनि अरु देशहरुमा यातायात क्षेत्रलाई आर्थिक रुपमा समेटेर उचित व्यवस्थापन गरिएको तर नेपालमा भने उपेक्षा गरिएको भन्दै गुनासो गरे ।
महासचिव भरत नेपालले राज्यको बजेटको करिव २२ प्रतिशत अग्रिम राजश्व बुझाउने यातायात क्षेत्रलाई सरकारले प्राथमिकतामा नराख्नु दुखद भएको बताए । सरकारको कमजोरीले गर्दा आगामी दिनमा यातायात क्षेत्रबाट व्यवसायीहरु पलायन हुनु पर्ने अवस्था आएको उनको भनाइ छ ।
व्यवसायीहरुले बैंकबाट किस्ताको लागि बारम्बार फोनहरु आइरहेको गुनासो पनि गरे । यस अवस्थामा सरकारले कुनै मतलब नगर्ने हो भने हामीले वार्षिक रुपमा सरकारलाई कर तिर्नुको अर्थ के भन्दै उनीहरुले आगामी दिनमा अझ भयावह स्थिति उत्पन्न हुनसक्ने चेतावनी समेत दिएका छन् ।





























प्रतिक्रिया