संविधान संशोधनमा तत्कालिन समाजवादी पक्षमा, राजपा विपक्षमा

संविधान संशोधनमा तत्कालिन समाजवादी पक्षमा, राजपा विपक्षमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सरकारले दर्ता गरेको संविधान संशोधनको विधेयकले तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीबीचको दूरी झनै बढाउने देखिएको छ । स्रोतका अनुसार समाजवादी संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने र राजपा विपक्षमा उभिने सम्भावना देखिएको हो । यसबाट दुई पार्टीको एकता झनै टाढिने देखिएको छ।

शुक्रबार तत्कालीन राजपाका नेता महन्थ ठाकुरले संसदमा छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोजेका थिए । उनलाई समाजवादीले साथ दिएन । आइतबार ठाकुरले संसद् सचिवालयमा छुट्टै प्रस्ताव दर्ता गर्ने कार्यक्रम रहेको राजपाका नेताहरू बताउँछन् । यसमा समाजवादीलाई मनाउन राजपाका नेताहरूले शनिबार दिनभर प्रयास गरेका छन् । राजपाका नेताहरूले शनिबार समाजवादीका अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवसँग औपचारिक वार्ता गरेका छन् । ‘हामीले दर्ता गर्न लागेको संशोधन प्रस्तावमा मिलेर जान राजपा र समाजवादी पार्टीबीच कुराकानी भइरहेको छ तर कुराकानी टुंगिएको छैन,’ दुई अलग अलग पार्टी जस्तो गरी तत्कालीन राजपाका नेता राजेन्द्र महतोले भने, ‘वार्ता जारी छ।’

राजपा र समाजवादी दुवै पार्टीले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावमा आफ्ना एजेन्डाहरूलाई समेत समेटेर प्योकजमा ल्याउनु पर्ने अडान राख्दै आएका छन् । सरकारले भने प्याकेजमा संशोधन प्रस्ताव नल्याउने, यसपटक संविधानको अनुसूची ३ लाई संशोधन गर्न मात्र संशोधन प्रस्ताव आउने बताएको छ। समाजवादीका एक सांसद तथा पदाधिकारीले भने, ‘प्याकेजमा संशोधन प्रस्ताव ल्याउने हाम्रो तयारी हो तर पनि संशोधनको पक्षमा मतदात गर्ने करिब करिब निश्चित छ।’

राजपाका नेताहरू भने प्रस्टसँग आफूले उठाएको एजेन्डालाई सम्बोधन नगरी ल्याइएको संविधान संशोधन प्रस्तावलाई आफूहरूले समर्थन नगर्ने बताएका छन् । ‘प्याकेजमा संविधान संशोधन गरौं भन्ने हाम्रो प्रस्ताव हो । हाम्रो माग सम्बोधन नगरी ल्याइएको संविधान संशोधन प्रस्तावलाई हामी समर्थन गर्दैनौं,’ राजपाका महासचिव मनीष सुमनले भने।

शुक्रबार राजपाका नेता महन्थ ठाकुरले दर्ता गर्न लागेको संविधान संशोधन प्रस्तावमा राजपाका नेताहरूले समाजवादीका सांसद प्रदीप यादव, इस्तियाक राई तथा उमाशंकर अरगरैयाको नाम राखेका थिए । ठाकुरले यी तीन सांसदलाई आफूसँगै लगेर प्रस्ताव दर्ता गर्न खोजेका थिए। तर दर्ता गर्ने ठाउँ नपुग्दै समाजवादीका अध्यक्ष उपेन्द्र यादवले आफ्ना सांसदलाई फोन गरेर संशोधन प्रस्तावमा हस्ताक्षर नगर्न निर्देशन दिए । उनले समाजवादीका सांसदलाई त्यहाँबाट फर्कनसमेत अह्राए । त्यसपछि राजपाका नेताहरू समाजवादीसँग आक्रोशित भएका छन्।

तत्कालीन राजपा र समाजवादीबीच वैशाख १० गते पार्टी एकीकरण गर्ने सहमति भइसकेको छ। तर निर्वाचन आयोगमा पार्टी एकीकरण गरिएको डकुमेन्ट बुझाउनु अघि नै दुई पार्टीबीच मतभेद बढ्न थालेको छ। पार्टी नेतृत्व, मयार्दाक्रम, संगठनात्मक संरचना, नेताको व्यवस्थापन, सैद्धान्तिक अवधारणा लगायत विषयमा राजपा र समाजवादीबीच कुरा मिल्न सकेको छैन । कुरा मिलाउन पटकपटक वार्ता हुने गरेको छ तर दुवै पक्ष आफ्नो अडानबाट पछि हटेको छैन । दर्जनौं एजेन्डामा सहमति जुट्न नसकेको बेला संविधान संशोधन प्रस्तावले समाजवादी र राजपाबीचको दूरी झनै बढाउने स्थिति देखिएको छ।नागरिकबाट

Logo