भक्तपुर ।
भक्तपुर नगरपालिका– ५ भेलुखेलका ४२ वर्षीय पुरुष ११ दिनको उपचारपछि कोरोनामुक्त भएर घर फर्किएसँगै शनिबारदेखि भक्तपुर जिल्ला कोरोनामुक्त भएको छ ।
काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारपछि काठमाडौँ महानगरपालिकामा सवारी चालकका रुपमा काम गर्ने ती पुरुष शनिबार घर फर्किएसँगै भक्तपुर कोरोना भाइरसमुक्त भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
भक्तपुरमा अहिलेसम्म सङ्क्रमित चाँगुनारायण नगरपालिका दुवाकोट बस्ने सशस्त्र प्रहरी, मध्यपुरथिमि शङ्खधरचोकमा सुनसरीबाट आएकी युवती, भेलुखेलका पुरुष र भक्तपुर– ९ की महिला जनप्रतिनिधि गरी चारै जनाले कोरोनालाई जितेर फर्किएपछि जिल्ला कोरोनामुक्त भएको हो ।
सङ्क्रमितका परिवार, उनीहरुसँग सम्पर्कमा आएका व्यक्ति र छिमेकीको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएको थियो । कोरोनाको जोखिम भने कायमै रहेको बताउँदै प्रहरी उपरीक्षक प्रधानले लकडाउनको पालना गर्न र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आम भक्तपुरवासीलाई आग्रह गरेका छन् ।
ड्रोनबाट जनचेतना फैलाउन शुरु
मध्यपुरथिमि नगरपालिकाले ड्रोनमार्फत कोरोना सङ्क्रमणबाट बच्नेबारे जनचेतना फैलाउन शुरु गरेको छ । नगरपालिकाले शनिबार वडा नं १ लोकन्थलीबाट ड्रोन उडाएर कोरोना सम्बन्धी जनचेतना फैलाउन शुरु गरेको हो ।
कोरोनाको सङ्क्रमण फैलिरहेका बेला यसलाई रोक्न कोरोनाबाट बच्ने उपायसहितको अडियो रेकर्ड राखेर ड्रोन उडाएर टोलटोलमा जनचेतना फैलाउन शुरु गरेको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए ।
लकडाउनका समयमा जथाभावी बजार खुलेको, जथाभावी मानिस बाहिर निस्कन थालेको पाइएपछि ड्रोनमार्फत जनचेतना फैलाउन शुरु गरिएको उनको भनाइ छ । यसबाट घरघरमा जान नपर्ने र ड्रोन देखेपछि चासो दिएर स्थानीयले हेर्ने र सुन्ने भएकाले यो माध्यम प्रभावकारी मानिएको छ ।
ललितपुरको कुपण्डोलस्थित पोकुरा इनोभेसन प्रालिका गोकर्णजङ्ग थापाको नेतृत्वमा इञ्जिनीयर राम खनाल, सुशील खड्का र साजन अमात्यको टोलीले निःशुल्करुपमा ड्रोन उडाएर जनचेतना फैलाएको हो ।रासस































प्रतिक्रिया