लकडाउन यता भाइरल बनेका ६ प्रकरण

लकडाउन यता भाइरल बनेका ६ प्रकरण

केन्द्रबिन्दु
0
Shares

विश्वभर फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरेको आज ६८ औं दिन । नेपालमा पनि कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दो छ । कोरोनाकै कारण समाज आतकिंत छ, त्यहि पनि सामान्य बन्ने अभ्यासमा जुटिरहेको छ ।

कोरोना भाइरस र लकडाउनसँगै यतिबेला नेपाली समाजमा विभिन्न विषय टेन्डिङमा छन् । सामाजीक बहसका यि विषयहरु यसरी गर्माउँछन् कि मानिसहरु विश्वब्यापी कोरोना संक्रमणको आतकं नै बिर्सन्छन् । यि प्रकरणहरु जसले सोसल मिडिया, सडकदेखि सदनसम्मलाई छोडेको छैन् । आज हामी लकडाउन यता भाइरल अर्थात ट्रेन्डिगं बनेका तिनै विषयहरुका बारेमा चर्चा गर्दैछौं ।

१. कोरोना र लकडाउन

सुरुवातमा विश्वकै तनावको विषय बनेको कोरोना अर्थात कोभिड १९ प्रकरणको कुरा गरौं । वर्ष २०१९ को अन्त्यबाट सुरु भएको कोरोना आतकंले नेपालमा मार्च २०२० बाट प्रभाव जमाउन सुरु गर्यो । चीनको हुवेइ प्रान्तको वुहान शहरबाट गत डिसेम्बरको अन्तिमतिर फैलिएको कोरोना भाइरस (कोभिड– १९) अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ ।

संक्रमणबाट बच्नका लागि विश्वका अधिकांश देशहरु लकडाउनमा छ । नेपालमा पनि गत चैत ११ गतेदेखि लकडाउन जारी छ । भाइरसबाट यो सामाग्री तयार पार्दासम्म विश्वभर ६० लाख ३३ हजार  भन्दा बढी संक्रमित भएका छन् । जसमा २६  लाख ६१ हजार भन्दा बढी निको भएका छन् । ३ लाख ६६ हजार भन्दा बढीको मृत्यु भएको छ। भाइरसबाट अमेरिका सबैभन्दा धेरै प्रभावित भएको छ । जहाँ मृत्यु हुनेको संख्याले १ लाख ४ हजार नाघेको छ भने, १७ लाख ९३ हजार भन्दा बढी संक्रमित भएका छन् ।

नेपालमा हालसम्म एक हजार २ सय १२ जना संक्रमित भएका छन् । जसमध्ये ६ जनाको मृत्यु भएको छ भने २०६ जना निको भएका छन् । संक्रमितको संख्या थपिएसँगै नेपालमा थप त्रास फैलिएको छ ।

सरकारले पटकपटक गरी लकडाउन लम्ब्याएसँगै जनजीवन कष्टकर बन्दै गएको छ । त्यसो अब लकडाउन खुकुलो बनाउनुपर्ने आवाज पनि उठ्न थालेका छन् । कोरोनाभाइरस र लकडाउनको विषय यतिबेला नेपालमा मात्रै नभएर विश्वभर टे«ण्डिङ विषय बनेको छ ।

२. सीमा विवाद

अहिले भाइरल बनिरहेको अर्काे इस्यू हो सीमा विवाद प्रकरण । भारतले नेपाली भूभाग लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने बाटो बनाएपछि सीमा विवाद उत्कर्षमा पुगेको हो । गत नोभेम्बरमा भारतले नयाँ नक्सा जारी गर्दै नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आप्mनो नक्सामा राखेपछि नेपालले विरोध जनाउँदै कुटनीतिक नोट पठाएको थियो ।

त्यतिमात्र होइन, नेपालले त्यो विषयमा पटक पटक वार्ताका लागि पहल गर्दा पनि भारतले त्यसलाई वेवास्ता गर्दै उल्टै सडक विस्तार गरी उद्धघाटन गरेपछि नेपालले त्यसको विरोध गर्दै नयाँ नक्सा जारी गर्याे ।

सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समावेश गर्दै नयाँ राजनीतिक नक्सा जारी गरेपछि यसले थप चर्चा पायो । नयाँ नक्साको चित्र र नेपालको नयाँ क्षेत्रफल चर्चाका विषय बनें । सारा नेपालीले सरकारको यो कदमलाई समर्थन गर्दै गर्वको अनुभुती गरे । सरकारको यो कदमप्रति सर्वत्र चर्चा भइरहँदा भारतले भने नेपालको नयाँ नक्सालाई अस्वीकार गरेको छ ।

यसै विषयलाई लिएर विभिन्न व्यक्तिहरु चर्चामा आए । नयाँ नक्सा जारी गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्याल चर्चामा आइन् । प्रधानमन्त्री ओलीले संसदमा दिएको अभिव्यक्तिलाई त ऐतिहासिक अभिव्यक्तिकारुपमा समेत लिइएको छ । उनले नक्सामा मात्रै नभई नेपाली भूमि जसरीपनि फिर्ता लिने बताएका थिए ।

सीमा विवाद प्रकरणमा सांसद सरिता गिरी मुछिइन् । उनले नयाँ नक्सा जारी गर्नु अघि भारतलाई सोध्नुपर्ने बताएपछि उनी विवादमा तानिएकि थिइन् ।

त्यस्तै सरकारले गरेको यो कार्यप्रति ऐक्यवद्धता जनाउँदै बलिउडमा जमेकी नेपाली कलाकार अभिनेत्री मनिषा कोइरालाले सरकारलाई धन्यवाद दिएकै कारण उनी एकाएक चर्चामा आइन् । उनको भारतमा निकै विरोध भयो भने नेपालमा वाहवाही भयो । उनले लेखेकी थिइन् ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

उनको यो ट्वीट लगत्तै भारतका अधिकांश संचारमाध्यमहरुमा विकाउ र भाइरल समाचार बन्यो ।उनीमाथि भारतको नुन खाएर नेपालको गुणगान गाएको आरोप समेत लगाएका थिए । अभिनेत्री मनिषा कोइरालाले आफुविरुद्ध नकारात्मक टिप्पणी गर्ने भारतीयहरुलाई जवाफमा भनेकी थिइन् ‘भारतलाई मैलै आफ्नो कला बेचेकी हु मेरो देश होइन ।’

यसै विषयमा भारतीय टेलिभिजनमा अन्तर्वार्ता दिएर त्यस्तै नेपाली कांग्रेसका नेता तथा सांसद मिनेन्द्र रिजाल चर्चामा आए । सांसद रिजाल भारतीय न्यूज च्यानल रिपब्लिकको बहसमा उपस्थित भएका थिए । ‘चाइना युजेज नेपाल’, अर्थात् चीनले नेपाललाई प्रयोग गर्छ नामक कार्यक्रमका लागि उपस्थित भएका उनले नेपालको पक्षमा दह्रो धारणा राखेका थिए । ‘सत्तापक्षीय पत्रकार’ अर्णव गोस्वामीले लिएको उक्त अन्तर्वार्तामा रिजालको घम्साघम्सी बहस चलेको थियो । अन्तर्वाताका क्रममा रिजालले आफू प्रतिपक्षी दलको सांसद भएपनि राष्ट्रियताको सवालमा एकजुट रहेको बताएका थिए । त्यसपछि उनको चर्चा चुलिएको थियो ।

यसै विषयमा चर्चामा आएकी अर्का व्यक्ति हुन् अभिनेत्री वर्षा राउत । नेपाल र भारतबीच उत्पन्न सीमा विवादको सन्दर्भमा उनले दिएको अभिव्यक्तिको एउटा भिडियो क्लिपले उनी विवादित बनेकी हुन् ।

भिडियोमा वर्षाले भनेकी छिन् ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त ‘टेबल टक’ गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो। यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् ।’
उनले भनेकी छन्, ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भइरहेको छ ।’ भन्ने अभिव्यक्तिको कारण सम्पूर्ण नेपाली उनीविरुद्ध खनिएका मात्र छैनन् गालीसमेत गरेका छन् । यसै विषयमाका कारण वर्षा सिवाकोटी पनि तनावमा परेकी थिइन् । वर्षा राउतको यो अभिव्यक्तिले एउटै नाम भएकी अर्की अभिनेत्री बर्षा सिवाकोटीलाई कतिपय मानिसहरुले सामाजिक संजालमा मात्र नभई पर्सनल म्यासेजमा समेत गाली गरिरहेको उनको भनाई छ ।

सरकारले नक्सा परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको छ । यद्यपि यो प्रस्ताव बुधवारमा बैठकमा प्रस्तुत गर्ने कार्यसूचि रहेपनि पछि हटाइएको छ ।

३. रुकुम घटना

घटना जेठ १० गतेको हो, जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका २० बर्षिय नवराज विक जसले प्रेमकै कारण  ज्यान गुमाउनु पर्यो  । नवराज मल्ल थरकी आफ्नी प्रेमिका(सुष्मा)सँगको तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ १८ जनासाथीहरु लिएर रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ सोती पुगेका थिए । तर, नवराजले प्रेमका लागि आफ्नो जीवन नै गुमाउन प¥यो । उनीसँगै अरु ५  जनाले पनि ज्यान गुमाए भने एक जना अझै बेपत्ता छन् ।

आफ्नी छोरी भगाउन खोजेको भन्दै गाउँलेहरुले युवाहरुलाई कुटपिट गर्दै लखेटेका थिए । मृतकहरुको शव भेरी नदी किनारमा भेटिएको थियो  । केटीको उमेर नपुगेको र केटीले विवाहको लागि अस्वीकार गरे पनि जबरजस्ती लान खोज्दा विवाद भएको केटी पक्षले दावी छ ।

यसले घटनालाई ढाकछोप गर्न खोजिएको देखिएपछि यस घटनाको चौतर्फी विरोध साथै निष्पक्ष छानबिनको माग भइरहेको छ । यो विषयले यतिबेला सामाजिक सञ्जाल, सडकदेखि संसद समेत तातेको छ ।

४. नेपाली नायिकाको अश्लिल भिडियो सार्वजनिक

नेपाल–भारत सीमा विवाद ‘साइवर स्पेस’मा समेत प्रवेश गरेको छ । नेपालले आफ्नो नक्सामा छुटेको कालापानी र लिपुलेक क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि सिमा विवाद अहिले नागरिक तहसम्म पुगिसकेको छ। यसको असर नेपाली चलचित्र क्षेत्रमा पनि परेको छ ।
भारतीय ह्याकर समुहले नेपालकी एक नायिकाको फेक अश्लील भिडियो सार्वजनिक गरेको छ । सामाजिक सञ्जाल प्रयोगकर्तामाझ पुगेको नायिकाको फेक अश्लील भिडियो सार्वजनिक भएपछि अहिले चलचित्र क्षेत्र तनावग्रस्त भएको छ ।

इण्डियन स्पाइडर स्क्वाइडले अझै १० नेपाली नायिकाहरु आफ्नो छनौटमा रहेको र अब उनीहरुको पनि अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिएको छ । यसरी नायिकाको फेक अश्लील भिडियो सार्वजनिक हुनु र इण्डियन स्पाइडर स्क्वाडको यस्तो धम्कीले नायिकाहरु चिन्तित बनेका छन् ।

५. बल्झिँदै एमसीसी प्रकरण

अमेरिकाको मिलेनियम च्यालेन्च कर्पाेरेसन (एमसीसी) जसरी पनि संसदको यहिँ अधिवेशनबाट पारित गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शलाई तीव्र बनाएका छन् ।

एमसीसी पास गराउन ओलीलाई पार्टी्भित्रै सहमति जुटाउने ठूलो चुनौती रहेको छ तर प्रतिपक्षी नेपाली काँग्रेस यो मामिलामा प्रधानमन्त्रीलाई पूरै साथ दिन तयार देखिन्छ । विश्वव्यापी कोरोना महामारीकाबीचमा पनि ठूलो आकारको बजेटको तयारी गरिरहेको सरकारलाई एमसीसी पारित गराउँदा एक किसिमले आर्थिक सन्तुलन मिलाउन सजिलो हुने देखिन्छ । एमसीसी पास गर्दा पश्चिमा मुलुक अर्थात ’डोनर’हरुको नजरमा यो सरकारप्रतिको दृष्टिकोण सकारात्मक हुने अर्को आधार पनि छ ।

प्रधानमन्त्री ओली यतिबेला मुख्यतः अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभामुख अग्नी सापकोटालाई कन्भिन्स गर्ने कार्यमा ब्यस्त छन् । ओली दलभित्रको विवादको बाबजुद जसरी पनि अब सो प्रस्ताव संसदमा टेवल गर्ने पक्षमा छन् भने दाहाल र सापकोटा पार्टी्भित्र सहमति कायम गरेर मात्र अगाडी बढ्ने पक्षमा छन् ।

केही दिन पहिला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सचिवालयका सदस्यहरुले एमसीसी नेपालका अधिकारीहरुसँग यस विषयमा छलफल गरेका थिए । विशेषतः नेकपाले केही महिना अगाडि गठन गरेको कार्यदलले नै एमसीसीलाई केही संशोधन गरेर मात्र अगाडि बढाउन आग्रह गरेपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेका थिए । नेकपामा विशेषगरी पूर्व माओवादी समूह अहिलेको सहमतिलाई जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा रहेको छ । यसलाई पूर्व एमाले समुहकै वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले साथ दिएका छन् । नेकपा वरिष्ठ नेता खनाल नेतृत्वको कार्यदलले एमसीसी परियोजना यथास्थितीमा कार्यान्वयन गर्न नहुने सुझाव दिएको थियो ।

त्यस्तै वरिष्ठ नेता माधव नेपालले पछिल्लो वैठकमा दाहाल र खनालको लाईनलाई समर्थन गरेका छन् यद्यपि उनी एमसीसी पास गर्नुपर्ने विषयमा तुलनात्मक हिसाबले पहिला भन्दा लचिलो बन्दै गएका छन् । अमेरिकन राजदूतले घरमै आएर एमसीसी बारे कुराकानी गरेपछि माधव नेपाल एमसिसीबारे केहि सकारात्मक बनेको श्रोत उल्लेख गर्छ । विपक्षी दल नेपाली काँग्रेसले एमसीसीको सवालमा सरकारलाई पूर्णरुपमा समर्थन गरेको छ । सन् २०१९ मा नै संसदबाट पास भई कार्यान्वयन हुनुपर्ने एमसीसी आगामी जुन महिनाबाट कार्यान्वयन गर्ने सहमति भएको छ ।

एमसीसीको बारेमा पार्टीलाई राय दिनका लागि कार्यदल बनाइएका कारण सो कार्यदलको सुझाबलाई पूरै इन्कार गर्न ओलीलाई निकै कठिन हुनेछ । यस अगाडि संसदमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा अमुर्त किसिमले एमसीसी घुसाइएको भनेर नेकपामा नेता भीम रावलले त्यसको चर्काे विरोध गरेका थिए । यो संसदबाट एमसीसी पास भएन भने एमसीसी नै खारेज हुने प्रवल सम्भावना रहेको छ ।

६. अध्यादेश प्रकरण

प्रधानमन्त्री केपी शर्मा ओलीले गुपचुप ल्याएको दुई अध्यादेशले ठूलै तरंग उत्पन्न गर्याे । प्रधानमन्त्री ओलीले ल्याएको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र संवैधानिक परिषद् (काम, कर्तब्य र अधिकार) सम्बन्धी ऐन, २०६६ मा संशोधन गरी अध्यादेश जारी भएपछि यो एकाएक चरम विवादमा परेको थियो ।

राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार ४० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले पार्टी फुटाउन सक्ने ब्यवस्था गरिएको हुनाले विपक्षमा रहेका सबैजसो दल विरोधमा उत्रिए । उनकै पार्टीका आम नेतामा समेत त्यसै प्रकृतीको भय देखियो । त्यसैगरी अर्को संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अनुसार संवैधानिक परिषदमा बहुमतले निर्णय लिन सक्ने प्रावधान राखिएको हुनाले संविधान र लोकतान्त्रिक भावनाको प्रतिकुल रहेको आम बौद्धिक विश्लेषण भयो । अन्ततः यो अध्यादेश फिर्ता भयो ।

यो अध्यादेशले पार्टी फूदेखि सरकार फेरबदलसम्मका प्रयासहरु भए । अध्यादेश प्रकरणले लामो समयदेखि एकताको प्रयासमा रहेका तर एकत्रित हुन नसकेका तत्कालीन समाजवादी पार्टी र राष्टिय जनता पार्टीबीच एकता गरायो । यी दुई पार्टीबीच एकता भइ अहिले जनता समाजवादी पार्टी बनेको छ । तर यो पार्टीभित्र पनि नेतृत्व विवाद चुलिएको छ । यसैकारण प्रदेश–२ सभामा रहेको प्रमुख शक्तिको हैसियतसमेत गुमेको छ । १ सय ७ सीट रहेको प्रदेशसभामा ३२ सीट पाएको नेकपा पहिलो शक्ति थियो ।

यो अध्यादेशसँगै सांसद अपहरण प्रकरण पनि जोडियो । सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेको भन्दै सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध उजुरी परेको छ ।

Logo