काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव रोकिनुमा कांग्रेसलाई दोषी देखाइएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रमुख सचेतक बालकृष्ण खाणले एक विज्ञप्ती जारी गर्दै यसप्रति कांग्रेसको ध्यानाकर्षण भएको जनाएका हुन् । उनले राष्ट्रियताको विषयमा कांग्रेस कहिले पनि अडान राखेर नबस्ने समेत स्पष्ट पारेका छन् ।
सरकार र प्रतिपक्षी मिलेर अघि बढ्ने समय मिलाउनु पर्नेमा सरकारले आफैं यसको वातावरण निर्माण नगरेको भन्दै कांग्रेसले यसलाई यथाशिघ्र अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।

यता कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि आज पेस हुने सूची तय भएको संविधान संशोधनको कार्यतालिका हटाइएको प्रति आपत्ति जनाएका छन् । सामाजिक संजाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै उनले सो प्रस्तावको प्रक्रिया सुचारु गर्न आग्रह गरेका छन् ।
‘प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने, फिर्ता गर्दा दोष लगाउने ?’ ‘को गर्दैछ यो षड्यन्त्र ?’ उनले भनेका छन् , प्रधानमन्त्री ज्यु प्रक्रिया सुचारु गर्नोस् । के.स.को बैठक बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा र शंसोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दिइसकेका छौं । यसमा हामी चट्टानी रुपले दृढ छौं, रहन्छौं ।

प्रवक्ता शर्माले नेपालको नयाँ नक्सा अनुसार निसान छाप अद्यावधिक गर्न ल्याइने संविधान संशोधनको प्रस्तावमा कांग्रेसको पूरा सर्मथन रहने बताउँदै यसलाई कसैले भाँड्न खोजेको त होइन भन्ने आशंका व्यक्त गरेका छन् ।
उता कांग्रेस सांसद गगन थापाले पनि सभापति शेरबहादुर देउवालाई फास्ट ट्रयाकबाट संविधान संशोधन गरौं भन्दै तत्काल केन्द्रीय समितिको बैठक बसेर यसको निर्णय गर्न अनुरोध गरेका छन् ।

सरकारले बुधवारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राखिएको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्न ल्याइएको संविधान संशोधन विधेयक अन्तिम समयमा हटाएको थियो । यसको कारण कांग्रेसले समय मागेकाले हटाउनु परेको सरकारी भनाइ बाहिर आएपछि कांग्रेसले आफूलाई दोष नथोपर्न र संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेको हो ।































प्रतिक्रिया