चालु आवमा हिमाल सफाइको कार्यक्रम सञ्चालन गरिने

चालु आवमा हिमाल सफाइको कार्यक्रम सञ्चालन गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणसँग सम्बन्धित जनशक्तिलाई हिमाल सफाइ लगायत क्षेत्रमा परिचालन गर्न सरकार सकारात्मक रहेको बताएका छन् । पर्वतीय पर्यटनसँग सम्बन्धित क्षेत्रका व्यक्तिसँग आइतबार मन्त्रालयमा भएको छलफलमा उनले चालु आर्थिक वर्षभित्र हिमाल सफाइको कार्यक्रम सञ्चालनको तयारी भएको जानकारी दिए ।

नेपाल पर्वतारोहण संघ (एनएमए) को अगुवाइमा बुझाइएको संयुक्त मागपत्र बुझ्दै उनले आरोही तथा अन्य कर्मचारीलाई राहत पुग्ने कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण भएको स्पष्ट गरे ।

एनएमए अध्यक्ष सन्तवीर लामाले पर्वतीय पर्यटनको क्षेत्रमा कार्यरत आरोही र आरोहणमा संलग्न सहयोगीका लागि तत्कालै राहतका कार्यक्रम सञ्चालन गरी आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रममा समावेश गरेर पर्वतीय पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन माग गरे । प्रस्तावित पर्यटन ऐन २०७६ का सम्बन्धमा संघका तर्फबाट राखिएका सुझाव र संघमार्फत भएका प्रयासका विषयमा समेत जानकारी गराइएको थियो ।

उक्त मागपत्रमा हिमाल सफाइ, हिमचुलीको अध्ययन तथा पहिचान, पदमार्ग, आरोहण मार्ग र उच्च भञ्ज्याङको अध्ययन, निर्माण तथा पुनः निर्माण, चेन एङकर र साइनेज जडान लगायत कार्यक्रमबारे अवगत गराइएको छ । त्यसैगरी हिमाली भागमा पोर्टर सेल्टर र शौचालय निर्माण, आरोहणसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमको दिगोपनका लागि आरोहणसँग सम्बन्धित माउण्टेन गाइड तथा आरोहणमा संलग्न सहयोगीका लागि नवीकरणीय तालिमको माग गरिएको संघले जनाएको छ ।रासस

Logo