काठमाडौं ।
समग्र देशका उद्योग व्यावसाय ६२ दिनदेखि बन्द अवस्थामा छन् । समग्र अटोमोबाइल्स व्यावसाय र यसका सम्पूर्ण क्षेत्रहरु पनि बन्द छन् । यसरी सम्पूर्ण उद्योग व्यावसाय बन्द हुँदा ३ खर्ब रुपैंयाँ भन्दा बढि राजश्व गुमिसकेको छ । अटोमोबाइल्स क्षेत्रबाट मात्रै ३० अर्ब राजश्व गुमिसकेको छ भने सम्पूर्ण अटोमोबाइल्स क्षेत्र धरासायी हुँदै गएको छ । अब यी सबै क्षेत्रलाई सरकारले पुरानै अवस्थामा फर्काउन ठूलो आर्थिक सुधारका कार्यक्रम ल्याउनु पर्ने देखिन्छ । अर्थतन्त्र चलायमान बनाउन नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले केही सुझावहरु दिएका छन् । यस्ता छन् उनले दिएका सुझावहरु :
१. सम्पूर्ण उद्योग व्यावसायको कर्जाको व्याजदरमा ५ प्रतिशत कम गरेर केही कर्जा थप गरि सावाँ ब्याज या किस्तालाई केही महिना पछि सारेर उद्योग व्यावसायलाई चल्ने वातावरण बनाउनु पर्छ ।
२. अटोमोबाइल्स बिना देशको पूर्वाधार निर्माण र उत्पादनको विकासका साथै कृषिमा आधुनिकिकरण नहुने हुँदा अटोमोबाइल्स क्षेत्रको लगानीका समस्याको समाधान गरी यो क्षेत्र भित्र भएको २० औं लाख रोजगारी बचाउनु र यस क्षेत्रको संरक्षण गर्नु अहिलेको आवश्यकता हो ।
३. नेपालमा भएका उत्पादनको संरक्षण र उत्पादनको विकासका लागि बजेटबाट सम्बोधन गरी आयातमा गुणस्तर र भन्सार राजश्वको दरमा समायोजन गर्नु पर्दछ ।
४. सरकारले पर्यटन, स्वास्थ्य र कृषिमा यो बर्षको बजेटमा ठूलो लगानी र राहतको व्यवस्था गर्नु पर्ने आवश्यकता छ । कृषिमा मल, बीउ, सिंचाई र यान्त्रिकरणमा अनुदान दिएर यसको विकासमा लाग्नु पर्छ । त्यस्तै, आन्तरिक पर्यटनको सुरुवात अबको आवश्यकता बनाउनु पर्छ । स्वास्थ्यमा लगानी बढाएर जनतालाई विकासको वातावरण बनाउनु पर्छ ।
५. यसपटक यति लामो लकडाउनका कारण धेरै उद्योग व्यावसाय उठ्नै नसक्ने अवस्थामा पुग्नेछन् । यो समयमा सरकारले लकडाउनको समयमा बन्द भएका उद्योग व्यावसायलाई राहतस्वरुप गतबर्ष आफैंले तिरेको एक बर्षको आयकर मात्र नगद फिर्ता दिने हो भने यो ठूलो र पारदर्शि राहत हुने र सरकारसँग उद्योग व्यावसायको ठूलो भरोसा हुने थियो । त्यस्तै, अर्को बर्षबाट हरेक उद्योग व्यावसायीलाई कर तिर्दा गर्व महसुश हुने थियो ।
६. अब लकडाउन खोलेर आवश्यक सुरक्षा अवधारणा बनाई काममा फर्कनु पर्ने देखिन्छ । अन्यथा मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन समस्या पर्छ ।
७. सरकारले हाम्रो पटक पटकको आग्रहमा विभिन्न ४४ प्रकारका उद्योग व्यावसायहरु खोल्ने निर्णय ग¥यो । तर पासको समस्याका कारण उद्योग व्यावसाय संचालन हुन सकिरहेका छैनन् । सरकारले खुलेका उद्योग व्यावसाय पूर्ण रुपमा संचालन गर्न यथाशिघ्र व्यवस्था गर्नुपर्छ ।
८. सरकारले उद्योग खोल्ने तर बजार नखोल्ने गर्दा अर्थतन्त्रलाई सन्तुलनमा राख्न सकिँदैन । त्यसैले उद्योग व्यावसायसँगै बजार पनि खोल्नु पर्छ । बजार नखोल्दा उत्पादित बस्तुहरु बिक्रि गर्ने ठाउँ नहुँदा त्यसले बजारमा असन्तुलन ल्याउँछ ।
९. कोरोना भाइरसका कारण मुलुकको उद्योग , व्यावसाय, पर्यटन, निर्माण, रेमिट्यान्स, वैदेशिक लगानी लगायतका विभिन्न क्षेत्र प्रभावित भएका छन् । सरकारले यी सबै समस्यालाई मध्यनजर गर्दै राहतसहितको बजेट ल्याउन सक्यो भने अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ ।































प्रतिक्रिया