काठमाडौं ।
इजरायलको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित भएकी छिन् ।
विश्वका ९० देशका दूतावास रहेको इजरायलमा ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ डा शाक्यलाई दिइएको हो । उनी यो सम्मानबाट सम्मानिन हुने एशियाली मुलुककै पहिलो राजदूत हुन् । राजदूत शाक्यले यो सम्मानलाई आफूले नेपाल र नेपालीप्रतिको सम्मानका रूपमा लिएको भन्दै यसले नेपाल र नेपालीको शिर उच्च बनाएको बताइन् । अहिलेसम्म यूरोप र अमेरिकी मूलुकका राजदूतले मात्र उक्त सम्मान पाउँदै आएका थिए ।
वि.सं. २०७५ फागुन ३ गते राजदूत नियुक्त शाक्यले कार्यभार सम्हालेको यो अवधिमा नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन काम गर्दै आएकी छिन् । कार्यक्रममा ‘द एम्बेसडर क्लब अफ इजरायल’ का अध्यक्ष इट्जाख इल्देनले यस्तो प्रतिकूल अवस्थामा पनि सबै देशका राजदूत कार्यक्रममा सहभागी भएकामा धन्यवाद दिएका थिए ।
केही दिन अघि मात्रै राजदूत शाक्यको पहलमा नेपाल–इजरायल चेम्बर अफ कमर्श र इजरायल चेम्बर अफ कमर्शबीच दुई देशबीच व्यापार–व्यवसाय आदान–प्रदान गर्ने सम्बन्धी सम्झौता भएको थियो । सो सम्झौतामा व्यापार, लगानी, उद्योग, कृषि, पर्यटन, प्रविधि, यातायात, पूर्वाधार विकास, ऊर्जा आदि क्षेत्रमा व्यापार–व्यवसाय गर्ने गरी सम्झौता भएको थियो ।
शाक्यले राजदूतको पदभार लिनु अघिसम्म जोर्डन र इजरायलको बीच तथा प्यालेस्टाइन क्षेत्रमा अवस्थित मृतसागरसँगै रहेको कालिया समुद्री तटमा ‘वर्ल्ड हाइलाइट’ भनेर लेखिएको होडिङ बोर्डमा सगरमाथा चीनमा रहेको गलत सूचना राखिएको थियो । पछि शाक्यको पहलमा त्यसलाई सच्याइएको थियो । फेरिएको होडिङ बोर्डमा विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्ने उल्लेख छ र झण्डा नेपालको राखिएको छ ।
राजदूत शाक्यले आफूलाई यो सम्मानबाट सम्मानित हुन सहयोग गर्ने ९० मुलुककै राजदूत, इजरायली सरकार, इजरायली जनता र त्यहाँ रहेका नेपालीलाई पनि धन्यवाद दिएकी छिन । ‘यो सम्मानले मलाई थप जिम्मेवार बनाएको छ,’ उनले भनिन् , मेरो योग्यता र क्षमताले भ्याएसम्म नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन विशिष्ट योगदान गरिरहने छु ।’
































प्रतिक्रिया